काठमाडौँ । बदलिँदो पारिवारिक संरचना, युवा पुस्ताको बढ्दो विदेश पलायन र ज्येष्ठ नागरिकको बढ्दो अनुपातलाई ध्यानमा राख्दै उनीहरूको स्वास्थ्य, स्याहारसुसार तथा सामाजिक सुरक्षाका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
वेलकम एज्ड केयर होमले मंसिर २ गते बुधबार काठमाडौंमा आयोजना गरेको ‘ज्येष्ठ नागरिकको स्याहारसुसार’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वरिष्ठ चिकित्सक तथा समाजसेवीहरूले ज्येष्ठ नागरिकको सम्मानजनक, सुरक्षित र स्वस्थ जीवन सुनिश्चित गर्न व्यवस्थित सेवा प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका हुन्।
संस्थाका अध्यक्ष प्राध्यापक डा. विधाननिधि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकको वर्तमान अवस्था, स्वास्थ्य उपचार, दीर्घकालीन स्याहार व्यवस्थापन तथा बदलिँदो सामाजिक परिवेशले निम्त्याएका चुनौतीका विषयमा छलफल भएको थियो।
स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष पौडेलले जीवनको उत्तरार्धमा नागरिकले भोग्नुपरेका स्वास्थ्य, पारिवारिक तथा सामाजिक समस्या दिनप्रतिदिन जटिल बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारसँगै उचित स्याहारसुसारको व्यवस्थापन आजको टड्कारो आवश्यकता बनेको बताए।
कार्यक्रममा चन्द्रेश्वर वैद्य, डा. राजेन्द्र बराल, मोहनप्रसाद पोखरेल, प्राध्यापक डा. गणेश गुरुङ, डा. जागेश्वर गौतम, शम्भु थापा, जुद्धबहादुर गुरुङ र भीमलाल गुरुङलगायतले आ–आफ्ना धारणा राखेका थिए।
वक्ताहरूले नयाँ र पुरानो पुस्ताबीच बढ्दै गएको दूरी, जनसांख्यिक संरचनामा आएको परिवर्तन, जन्मदरमा आएको कमी तथा युवा पुस्ताको बढ्दो वैदेशिक आकर्षणका कारण ज्येष्ठ नागरिकको स्याहार व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको औँल्याए।
परिवारका युवा सदस्य अध्ययन तथा रोजगारीका सिलसिलामा विदेशिने क्रम बढ्दै जाँदा ज्येष्ठ नागरिकले परिवारबाट पाउनुपर्ने पर्याप्त समय, साथ, आवश्यक हेरचाह तथा भावनात्मक सहयोगसमेत पाउन नसक्ने अवस्था सिर्जना हुँदै गएको उनीहरूको भनाइ थियो।
ज्येष्ठ नागरिकको स्याहारसुसारलाई केवल पारिवारिक जिम्मेवारीका रूपमा सीमित नराखी सामाजिक तथा राज्यको साझा दायित्वका रूपमा लिनुपर्ने आवश्यकता देखिएको छ। नियमित स्वास्थ्य परीक्षण, दीर्घरोगको व्यवस्थापन, पोषण, मानसिक स्वास्थ्य, सामाजिक सहभागिता तथा सुरक्षित जीवनयापनका लागि एकीकृत सेवा प्रणाली विकास गर्नु आवश्यक छ।
वक्ताहरूले आगामी वर्षहरूमा ज्येष्ठ नागरिकको स्वास्थ्य तथा स्याहार व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने भन्दै सरकारी र निजी क्षेत्रबीच सहकार्य गरी गुणस्तरीय, भरपर्दो तथा पहुँचयोग्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिए।
बदलिँदो सामाजिक र जनसांख्यिक परिस्थितिलाई ध्यानमा राख्दै ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा, दक्ष स्याहारकर्ता तथा व्यवस्थित स्याहार केन्द्रहरूको विकासलाई समयमै प्राथमिकता दिनुपर्ने आवश्यकता पनि अन्तरक्रियाले उजागर गरेको छ।
काठमाडौंको लाजिम्पाट, उत्तरढोकास्थित वेलकम एज्ड केयर होमको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य डा. टंक प्रसाईंले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया