अध्यादेशको शासन स्वीकार्य छैनः गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति अघि बढाउन खोजेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा सभापति थापाले अध्यादेश जारी गर्ने र त्यसैका आधारमा राज्य सञ्चालन गर्ने प्रवृत्तिको प्रतिरोध हुने बताएका हुन् । उनले । विगतमा अध्यादेश ल्याएपछि त्यसलाई प्रतिस्थापन गर्ने विधेयक संसद्मा पेस हुने अभ्यास रहे पनि अहिले त्यसको समेत आवश्यकता नदेख्ने गरी शासन गर्न खोजिएको उनको टिप्पणी थियो ।

सभापति थापाले पार्टीभित्रको विवाद समाधानका लागि संवादको ढोका खुला राख्दै विधानविपरीत गतिविधि गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिए सभापति थापाले कांग्रेसमा दुईवटा महाधिवेशन हुन नसक्ने बताए ।

विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका आधारमा कसैलाई अलग नगर्ने तर, कांग्रेसको सदस्यता कायम राख्दै अर्को पार्टीमा आबद्ध हुने वा अर्को दलको चुनाव चिह्नबाट निर्वाचन लड्नेहरूलाई पार्टी विधानअनुसार कारबाही गरिने उनले स्पष्ट पारे ।

सभापति थापाले कांग्रेस सभापति बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँचपटक भेट गरिसकेको जानकारी दिए । सभापति भएपछि विभिन्न दलका नेताहरूसँग भेटघाट र छलफल हुनु स्वाभाविक राजनीतिक प्रक्रिया भएको उनले बताए । मधेश प्रदेश सरकारको विषयमा ओली, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल हुनु पनि स्वाभाविक रहेको उनको भनाइ थियो ।

उनले भने, ‘कांग्रेसको सभापति भएपछि केपी ओलीलाई पाँचपटक भेटिसकेँ । सभापति हुँदा एमाले, माओवादी, रास्वपा सभापतिसँग पनि भेट हुन्छ । यो स्वाभाविक प्रक्रिया हो,’ उनले भने ।