डा. गोविन्दशरण उपाध्याय ।
पश्चिमा दार्शनिक परम्पराको एउटा अत्यन्त शक्तिशाली विशेषता के हो भने त्यहाँका चिन्तकहरूले आफ्नै धार्मिक–सांस्कृतिक विरासतलाई केवल श्रद्धाको विषय बनाएनन्; त्यसलाई प्रश्नको विषय बनाए, तर्कको विषय बनाए, प्रमाणको विषय बनाए र समालोचनाको कठघरामा समेत उभ्याए । यहूदी–इसाई परम्पराभित्र विकसित ईश्वर, आत्मा, सृष्टि, नैतिकता, पाप, मुक्ति, स्वतन्त्र इच्छा, न्याय, विवेक र मानव–गरिमाजस्ता अवधारणालाई उनीहरूले धर्मशास्त्रमा मात्र सीमित राखेनन्; दर्शन, तर्कशास्त्र, नैतिकशास्त्र, ज्ञानमीमांसा, अस्तित्वमीमांसा र पछि विज्ञानसम्मको बहसमा प्रवेश गराए । त्यही कारण धार्मिक अवधारणाहरू केवल विश्वास रहेनन्; तिनले बौद्धिक भाषा पाए ।
यस प्रक्रियाको विशेषता अझ रोचक छ । पश्चिमका सबै दार्शनिक धार्मिक थिएनन् । कोही आस्तिक थिए, कोही संशयवादी, कोही अज्ञेयवादी र कोही स्पष्टतः नास्तिक पनि थिए । तर नास्तिक दार्शनिकले इसाई परम्पराको आलोचना गर्दा पनि त्यही परम्पराले उठाएका ईश्वर, नैतिकता, मानवस्वभाव, स्वतन्त्रता, इतिहास र अर्थका प्रश्नमाथि गम्भीर चिन्तन गरिरहेको हुन्थ्यो । अर्थात् विरोधले पनि आफ्नै बौद्धिक परम्परालाई समृद्ध बनायो । समर्थन गर्नेले व्याख्या गरे; असहमति राख्नेले चुनौती दिए; चुनौतीको उत्तर दिनेले नयाँ दर्शन निर्माण गरे । यसरी एउटा सभ्यताले आफ्नै विश्वाससँग संवाद गरिरह्यो ।
यही निरन्तर संवाद पश्चिमी सभ्यताको ठूलो बौद्धिक शक्ति बन्यो । धर्मको समर्थन मात्र होइन, धर्मको आलोचना पनि अन्ततः त्यही सभ्यताको ज्ञान–सम्पत्ति बन्यो । थोमस अक्विनासले ईश्वरका पक्षमा तर्क गरे भने ह्युमले धार्मिक प्रमाणमाथि प्रश्न उठाए । कान्टले परम्परागत तत्त्वमीमांसाको सीमा देखाए तर धर्म र नैतिकताबीच नयाँ सम्बन्ध स्थापित गरे । नित्सेले इसाई नैतिकताको तीव्र आलोचना गरे, तर उनको आलोचना पनि युरोपेली बौद्धिक इतिहासकै शक्तिशाली अध्याय बन्यो । त्यसैले पश्चिममा धर्मको आलोचना धर्म–संस्कृतिको पूर्ण निषेधमा मात्र परिणत भएन; धेरै अवस्थामा त्यसले परम्परालाई आत्मपरीक्षण, पुनर्व्याख्या र नयाँ भाषामा प्रस्तुत हुन बाध्य बनायो ।
यही प्रक्रियाले पश्चिमी सभ्यतालाई विशाल बौद्धिक ‘सफ्ट पावर’ उपलब्ध गरायो । आज विश्वभर प्रयोग हुने व्यक्ति, स्वतन्त्रता, अधिकार, न्याय, सेक्युलरिज्म, धर्म, विवेक, राज्य, समाज, प्रगति, मानवतावादजस्ता धेरै अवधारणाहरूको अन्तर्राष्ट्रिय संवाद मुख्यतः पश्चिमी भाषिक तथा बौद्धिक संरचनाभित्र हुन्छ । शक्ति केवल सेना, पैसा र प्रविधिबाट स्थापित हुँदैन; संसारले कुन भाषामा सोच्ने, कुन अवधारणामा प्रश्न गर्ने र कुन शब्दावली प्रयोग गरेर आफ्नै समाजको व्याख्या गर्ने भन्ने कुराले पनि शक्ति निर्धारण गर्छ । पश्चिमको ठूलो सफलता यही ठाउँमा देखिन्छ ।
विडम्बना के छ भने नेपाली तथा भारतीय बौद्धिक समाजले आफ्नै परम्पराको अध्ययन गर्दा पनि धेरैपटक पश्चिमले तयार गरेको ऐना प्रयोग गर्यो । वेद, उपनिषद्, बौद्ध, जैन, योग, सांख्य, न्याय, वैशेषिक, मीमांसा, वेदान्त, तन्त्र र धर्मशास्त्रजस्ता विशाल चिन्तनपरम्परालाई आधुनिक विश्वविद्यालयमा परिचित गराउने क्रममा पश्चिमी पद्धतिबाट ठूलो सहयोग प्राप्त भयो । त्यो सहयोग महत्त्वपूर्ण थियो तर समस्या त्यहाँ उत्पन्न भयो जहाँ सहयोगी पद्धति नै अन्तिम कसौटी बन्न थाल्यो । उनीहरूका कसौटीले आफ्नो मौलिक विषय ओझेलमा पर्न सक्छ वा पश्चिमा-बायस हुन सक्छ भन्ने तत्थ्य बुझ्न सकेनौं ।
हामीले आफ्ना अवधारणाको आधुनिक पुनर्व्याख्या गर्नुभन्दा तिनलाई पश्चिमी अवधारणाका अनुवादका रूपमा बुझाउन थाल्यौँ । यसको सबैभन्दा सरल उदाहरण ‘धर्म’लाई ‘religion’ मान्नु हो । संस्कृत परम्पराको ‘धर्म’ शब्दले कर्तव्य, स्वभाव, धारण गर्ने तत्त्व, नैतिक व्यवस्था, सामाजिक उत्तरदायित्व, जीवनपद्धति र लौकिक–पारलौकिक अनुशासनसम्मको व्यापक अर्थ वहन गर्न सक्छ । ‘Religion’ सँग यसको केही अर्थ मिल्छ, तर दुवै पूर्णतः समानार्थी होइनन् । जब ‘धर्म’लाई केवल ‘religion’ को अनुवाद मानिन्छ, भारतीय दार्शनिक अवधारणाको ठूलो अंश अनुवादमै हराउँछ ।
त्यस्तै ‘धर्मनिरपेक्षता’लाई ‘secularism’ को सरल प्रतिलिपि ठान्दा पनि समस्या उत्पन्न हुन्छ । युरोपेली secularism विशिष्ट ऐतिहासिक परिस्थितिबाट जन्मिएको अवधारणा हो—विशेषतः चर्च, राज्य, धार्मिक अधिकार र राजनीतिक सार्वभौमिकताको लामो द्वन्द्वको पृष्ठभूमिमा । भारतीय उपमहाद्वीपको धर्मसम्बन्धी इतिहास, सामाजिक संरचना र बहुधार्मिक सहअस्तित्वको अनुभव उही थिएन । त्यसैले शब्द अनुवाद गर्न सकिन्छ; इतिहास अनुवाद गर्न सकिँदैन । अवधारणा ग्रहण गर्न सकिन्छ; तर त्यसको जन्मभूमिको अनुभव यथावत् आयात गर्न सकिँदैन ।
हाम्रो बौद्धिक कमजोरी पश्चिमी दर्शन पढ्नु होइन । पश्चिमबाट सिक्नु कमजोरी हुँदै होइन । वास्तविक कमजोरी भनेको पश्चिमले आफ्नो परम्परालाई जसरी दार्शनिकीकरण गर्यो, हामीले आफ्नो परम्परालाई त्यसरी दार्शनिकीकरण नगर्नु हो । पश्चिमले आफ्ना धार्मिक प्रतिमानलाई प्रश्न गर्यो, परिभाषित गर्यो, आलोचना गर्यो, पुनर्व्याख्या गर्यो र संसारलाई पढायो । हामीले आफ्ना प्रतिमानलाई या त अन्धश्रद्धाको सुरक्षित कोठामा थुन्यौँ, या आधुनिक देखिने हतारमा तिनलाई पुरातन र अनुपयोगी घोषणा गर्यौँ । दुवै बाटा बौद्धिक रूपमा कमजोर हुन् ।
कुनै सभ्यताको ज्ञानपरम्परा तब बलियो हुन्छ जब त्यसका पक्षधरले मात्र होइन, आलोचकले पनि त्यसलाई गम्भीरतापूर्वक पढ्छन् । उपनिषद्को रक्षा गर्न उपनिषद् पढ्नुपर्छ; तर उपनिषद्को आलोचना गर्न पनि उपनिषद् नै पढ्नुपर्छ । मनुस्मृतिको समर्थन होस् वा विरोध—पहिला त्यसको पाठ, ऐतिहासिक सन्दर्भ र दार्शनिक आधार बुझ्नुपर्छ । गीता, वेदान्त, बौद्ध दर्शन वा धर्मशास्त्रलाई केवल श्रद्धा वा घृणाको विषय बनाएपछि दर्शन समाप्त हुन्छ । प्रश्न, प्रमाण, प्रतिप्रश्न र विवेचनाको प्रवेशसँगै दर्शन आरम्भ हुन्छ ।
पश्चिमको वास्तविक शक्ति सबै दार्शनिक एउटै विचारका थिए भन्नेमा होइन । उनीहरू त परस्पर अत्यन्त असहमत थिए । वास्तविक शक्ति के थियो भने तिनीहरूको असहमति पनि आफ्नै सभ्यताको बौद्धिक पूँजीमा परिणत भयो । एक पुस्ताले प्रश्न उठायो, अर्कोले उत्तर दियो, तेस्रोले दुवैको आलोचना गर्यो र चौथो पुस्ताले त्यसबाट नयाँ सिद्धान्त निर्माण गर्यो । विश्वविद्यालय, पुस्तक, अनुसन्धान, अनुवाद, जर्नल, शब्दकोश र सार्वजनिक विमर्शले त्यो निरन्तरता कायम राखे । यही बौद्धिक संस्थागत निरन्तरता नै सभ्यतागत सफ्ट पावरको आधार हो ।
नेपाल र भारतले यही ठाउँमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ । हाम्रो समस्या दर्शनको अभाव होइन; आफ्नै दर्शनप्रतिको व्यवस्थित बौद्धिक उत्तरदायित्वको अभाव हो । संस्कृतमा हजारौँ वर्षको चिन्तन छ, पालीमा छ, प्राकृतमा छ, नेपाली र अन्य भारतीय भाषामा छ । तर नयाँ पुस्ताले आफ्नै जीवनका प्रश्न—पहिचान, मानसिक स्वास्थ्य, परिवार, नैतिकता, पर्यावरण, अर्थ, राज्य, शिक्षा, प्रेम, मृत्यु र आध्यात्मिकता—ती परम्परासँग जोडेर सोध्न पाउने आधुनिक बौद्धिक भाषा हामीले पर्याप्त निर्माण गर्न सकेका छैनौँ ।
फलतः हाम्रो आफ्नै समाजमा जन्मिएका अवधारणाहरू हामीकहाँ अपरिचित बन्दै जान्छन् र विदेशबाट पुनःप्याकेज भएर आएपछि आधुनिक ज्ञानका रूपमा स्वीकारिन्छन् । योग यसको स्पष्ट उदाहरण हो । ध्यान अर्को उदाहरण हो । कल्याण, चेतना, आत्मअनुशासन र समग्र जीवनदृष्टिसँग सम्बन्धित धेरै अवधारणामा पनि यही अवस्था देख्न सकिन्छ । आफ्नो ज्ञानलाई आफैँले आधुनिक भाषामा प्रस्तुत नगरेपछि अरूले त्यसलाई अध्ययन गर्छन्, नयाँ शब्द दिन्छन्, सिद्धान्त बनाउँछन्, अनुसन्धान गर्छन् र विश्वबजारमा प्रस्तुत गर्छन् । त्यसपछि हामी आफ्नै ज्ञानलाई उनीहरूकै पुस्तकबाट पुनः चिन्छौँ ।
त्यसैले आजको आवश्यकता पश्चिमको विरोध होइन; बौद्धिक आत्मनिर्भरता हो । पश्चिमी दर्शन पढौँ, मार्क्स पढौँ, कान्ट पढौँ, ह्युम पढौँ, नित्से पढौँ, रसेल पढौँ । तर शङ्कर, रामानुज, निम्बार्क, अभिनवगुप्त, नागार्जुन, धर्मकीर्ति, कुमारिल, उदयन, पतञ्जलि र याज्ञवल्क्यलाई पनि आधुनिक समस्यासँग संवाद गराएर पढौँ । अनुवाद मात्र नगरौँ; अवधारणा निर्माण गरौँ । प्रशंसा मात्र नगरौँ; आलोचना पनि गरौँ । आलोचना मात्र नगरौँ; विकल्प पनि निर्माण गरौँ । किनकि सफ्ट पावरको प्रारम्भ विदेशबाट हुँदैन । कुनै संस्कृति पहिले आफ्नै सन्ततिका लागि बौद्धिक रूपमा विश्वसनीय बन्नुपर्छ । आफ्नै युवाले आफ्नो दर्शनलाई केवल कर्मकाण्ड, कथा वा विगतको गौरवका रूपमा होइन, वर्तमान जीवनका गम्भीर प्रश्नको उत्तर खोज्ने जीवित ज्ञानपरम्पराका रूपमा अनुभव गर्न थालेपछि मात्र त्यो विश्वसँग संवाद गर्न सक्षम हुन्छ ।
सभ्यताको सबैभन्दा ठूलो पराजय अरूको दर्शन पढ्नु होइन । आफ्नो दर्शनलाई केवल अरूले दिएको परिभाषाबाट बुझ्न बाध्य हुनु हो । र सभ्यताको पुनर्जागरण त्यही क्षणबाट सुरु हुन्छ, जब उसले अरूको ज्ञानलाई सम्मान गर्दै आफ्नो ज्ञानलाई आफ्नै आँखाले पुनः हेर्न थाल्छ ।

प्रतिक्रिया