मेडिकल कलेजमाथिका आरोपको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न एसोसिएशनको माग


काठमाडौं । निजी मेडिकल तथा डेण्टल कलेज एसोसिएशन अफ नेपालले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा प्रतिनिधिसभामा उठाइएका गम्भीर आरोपको शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित नियामक निकायसँग माग गरेको छ।

एसोसिएशनले विज्ञप्ति जारी गर्दै सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा नेशनल मेडिकल कलेजका सम्बन्धमा व्यक्त गरेका आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। संकाय सदस्य, स्नातकोत्तर प्रशिक्षण, नियामक निरीक्षण, अस्पताल सेवा तथा विद्यार्थीको शैक्षिक वातावरणसँग जोडिएका विषय सामान्य प्रकृतिका नभएको उल्लेख गर्दै एसोसिएशनले आरोप सही भए कानुनअनुसार कारबाही हुनुपर्ने स्पष्ट पारेको छ।

सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा विद्यार्थीले अनियमितताका विषय उठाएपछि उनीहरूको अध्ययन र आवासमा अवरोध गरिएकोलगायत आरोप प्रतिनिधिसभामा उठाएको विवरण सार्वजनिक भएको एसोसिएशनले जनाएको छ।

चिकित्सा शिक्षाको गुणस्तर नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिने भएकाले सार्वजनिक रूपमा उठेका यस्ता आरोपलाई सामान्य रूपमा लिन नमिल्ने एसोसिएशनको भनाइ छ। कुनै मेडिकल कलेजमा अनियमितता भएको तथ्य र प्रमाण भए छानबिन तथा कारबाहीका लागि चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत अधिकारप्राप्त नियामक निकाय रहेको उल्लेख गर्दै एसोसिएशनले अनियमितता प्रमाणित भए जोसुकैमाथि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने जनाएको छ।

‘प्रमाणित अनियमितताको संरक्षण गर्दैनौँ’

एसोसिएशनले कुनै व्यक्ति वा संस्था तथ्य, कानुन, नियमन र उत्तरदायित्वभन्दा माथि हुन नसक्ने स्पष्ट पारेको छ। प्रमाणित अनियमितताको संरक्षण नगर्ने प्रतिबद्धता जनाउँदै उसले आरोप र प्रमाणित तथ्यलाई भने एउटै रूपमा लिन नहुने धारणा राखेको छ।

संसद्जस्तो गरिमामय थलोमा सार्वजनिक सरोकारका विषय उठ्नु आवश्यक र स्वाभाविक भए पनि कुनै शैक्षिक तथा स्वास्थ्य संस्थामाथि गम्भीर आरोप लगाउँदा तथ्य, प्रमाण र जिम्मेवारीप्रति उच्च संवेदनशीलता अपनाउनुपर्ने एसोसिएशनको भनाइ छ।

नियामक निकायको छानबिन र आधिकारिक निष्कर्ष आउनुअघि आरोपलाई नै स्थापित तथ्यका रूपमा प्रस्तुत गर्दा सम्बन्धित संस्थाको प्रतिष्ठामा मात्रै नभई त्यहाँ अध्ययनरत विद्यार्थीको मनोबल र भविष्य, चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत प्रतिष्ठा, उपचाररत बिरामीको विश्वास तथा समग्र चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीप्रतिको सार्वजनिक भरोसामा समेत असर पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

एसोसिएशनले एकातर्फ प्रमाणित अनियमितताको संरक्षण हुन नहुने र अर्कोतर्फ प्रमाणित हुन बाँकी आरोपका आधारमा कुनै व्यक्ति वा संस्थालाई सार्वजनिक रूपमा दोषी ठहर गर्ने परिस्थिति पनि बन्न नहुने स्पष्ट पारेको छ।

यसैबीच एसोसिएशनले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य अधिकारप्राप्त निकायलाई संसद्मा सार्वजनिक रूपमा उठाइएका विषयमाथि शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी वास्तविकता सार्वजनिक गर्न आग्रह गरेको छ।

विद्यार्थीको भविष्य, बिरामीको उपचार तथा नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै एसोसिएशनले सम्बन्धित सबै पक्षलाई संयमित, जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउनसमेत आग्रह गरेको छ।