मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा : मेडिकेयर लाभग्राहीलाई ९० डलर


रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेडिकेयर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध २ करोडभन्दा बढी ज्येष्ठ नागरिकलाई एकमुष्ट ९० अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन्।

मासिक स्वास्थ्य बीमाको प्रिमियम तिर्न सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको ट्रम्पले बताएका छन्। उनका अनुसार रकम मेडिकेयर इम्प्रुभमेन्ट फन्डबाट दिइनेछ। उक्त कोषमा मेडिकेयरको शुल्कमा आधारित सेवा कार्यक्रम सुधारका लागि अमेरिकी कंग्रेसले २ अर्ब डलर विनियोजन गरेको उनले बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन् । ह्वाइट हाउसका अनुसार अधिकांश योग्य ज्येष्ठ नागरिकले अक्टोबरको सुरुवातमै बैंक खातामा प्रत्यक्ष रूपमा ९० डलर प्राप्त गर्नेछन्। प्रत्यक्ष भुक्तानीको सुविधा नभएकालाई मेडिकेयरमा दर्ता गरिएको ठेगानामा चेक पठाइनेछ।

नोभेम्बरमा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले मतदातालाई लक्षित गर्दै विभिन्न आर्थिक सहयोगका घोषणा गरिरहेका छन्। रिपब्लिकन पार्टी हाल सिनेट र प्रतिनिधिसभा दुवैमा झिनो बहुमतमा छ।

अमेरिकामा जीवनयापनको लागत बढिरहेको तथा इरानसँगको युद्धका कारण तेल र ग्यासको मूल्य बढेको विषयमा ट्रम्प प्रशासनमाथि दबाब बढिरहेका बेला पछिल्लो घोषणा आएको हो।

गत महिना ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले दुवै सदनमा आफ्नो नियन्त्रण कायम राखे सबै वयस्क अमेरिकी नागरिकलाई ५ हजार डलरका दरले चेक दिने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावप्रति अर्थशास्त्री, विश्लेषक तथा रिपब्लिकन पार्टीकै केही सांसदले समेत शंका व्यक्त गरेका थिए।

यसैबीच, ट्रम्प प्रशासनले करिब १० लाख अमेरिकी नागरिकलाई ५०० डलरका दरले छुट्टै रकम वितरण गरिरहेको छ । ह्वाइट हाउसका अनुसार अफोर्डेबल केयर एक्टअन्तर्गत स्वास्थ्य बीमा खरिद गर्ने व्यक्तिबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न उक्त रकम वितरण गरिएको हो।