काबुल । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण घाइते भएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ । पाकिस्तानले भने कारबाही आतङ्कवादी लुकेका स्थान र शिविरलाई लक्षित रहेको तथा प्रारम्भिक विवरणअनुसार २२ जना आतङ्कवादी मारिएको दाबी गरेको छ ।
दुवै पक्षका हताहतसम्बन्धी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । दुई देशबीच सीमापार झडप र उग्रवादी गतिविधिलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । यस वर्षको सुरुदेखि तनाव बढेपछि पाकिस्तानले अफगानिस्तानभित्र पटकपटक हवाई कारबाही गर्दै आएको छ ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दक्षिणी हेल्मन्ड र पूर्वी कुनार प्रान्तमा सर्वसाधारणका घरमा हवाई आक्रमण भएको बताए । उनकाअनुसार तीनवटा घर ध्वस्त भएका छन् । उनले घटनाको निन्दा गर्दै यसलाई आक्रामक कार्य तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत सिद्धान्तको उल्लङ्घन भएको बताए ।
पाकिस्तानको सूचना मन्त्रालयले भने आतङ्कवादी लुकेका स्थान तथा शिविरलाई लक्षित गरी सुनियोजित हवाई कारबाही गरिएको जनाएको छ । मन्त्रालयका अनुसार लक्षित स्थानबाट ठूलो मात्रामा हतियार तथा गोलाबारुद फेला पारेर नष्ट गरिएको थियो । कारबाहीका क्रममा सर्वसाधारणलाई क्षति नहोस् भनेर अधिकतम सावधानी अपनाइएको पनि पाकिस्तानले दाबी गरेको छ ।
पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारमाथि तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) लगायतका समूहलाई अफगान भूमिबाट सञ्चालन गर्न र पाकिस्तानमा आक्रमण गर्न दिएको आरोप लगाउँदै आएको छ । अफगानिस्तानले भने टिटिपीलाई सुरक्षित आश्रय दिएको आरोप अस्वीकार गर्दै आएको छ ।
यसैबीच, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले यस वर्ष सीमापार हिंसाका कारण एक हजार एक सयभन्दा बढी अफगान नागरिकको मृत्यु तथा घाइते भएको जनाएको छ । पाकिस्तानले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप अस्वीकार गर्दै पाकिस्तानभित्र आक्रमण गर्ने आतङ्कवादीलाई मात्र निशाना बनाइएको बताउँदै आएको छ ।

प्रतिक्रिया