‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई


काठमाडौं। ठमेल पर्यटन विकास परिषद्द्वारा आयोजित ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटी क्लबले हात पारेको छ। ४७औँ विश्व पर्यटन दिवसको अवसरमा परिषद्ले असोज ७ गतेदेखि आयोजना गरेको उक्त प्रतियोगिताको आज भएको फाइनल खेलमा जोरपाटी क्लबले ठमेल-११ क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

प्रतियोगिता जितेसँगै जोरपाटी क्लबले नगद रु दुई लाख, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ। यस्तै, दोस्रो टोली ठमेल-११ ले रु एक लाख नगद, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ।

प्रतियोगितामा ठमेल-११ का प्रकाश रानामगर उत्कृष्ट खेलाडी, जोरपाटीका धर्मेन्द्र लामा उत्कृष्ट गोलकिपर, जोरपाटीका विपीन शाही उत्कृष्ट रक्षक, जोरपाटीकै नितिन लामा उत्कृष्ट गोलकर्ता, ठमेल-११ का दीपक लामा म्यान अफ द म्याच र जोरपाटी क्लब ‘फेयर’ खेल्ने टिम बनेको छ। प्रशिक्षक प्रवीनराज वन्तका अनुसार विधागत विजेताले जनही रु पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ।

कार्यक्रममा ठमेल पर्यटन परिषद्का अध्यक्ष राजुमान डङ्गोलले खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्नका लागि परिषद्ले दोस्रो संस्करणको ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिता आयोजना गरेको जानकारी दिएका छन्। यस प्रतियोगिताले ठमेलभित्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने अध्यक्ष डङ्गोलको भनाइ छ।