तेहरान। इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने तेहरानको प्रस्तावबारे अमेरिकाबाट मङ्गलबार औपचारिक जवाफ प्राप्त हुने अपेक्षा गरिएको बताएको छ । उनका अनुसार कतारी मध्यस्थकर्ताले इरान र अमेरिकाबीचको प्रस्तावबारे छलफल गरिरहेका छन् र अमेरिकी पक्षसँग पुनः कुरा गरेपछि अन्तिम जवाफ इरानलाई पठाइनेछ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका अराघचीले सोमबार राति कतारी मध्यस्थकर्ताले प्रस्तुत गरेका विषयमा छलफल भएको बताएको हो ।
“उहाँहरूले केही विचार प्रस्तुत गर्नुभयो र हामीले त्यसबारे छलफल गर्यौँ । उहाँहरूले अमेरिकी पक्षसँग फेरि कुरा गर्ने तयारी गर्नुभएको छ र त्यसपछि अन्तिम अमेरिकी प्रतिक्रिया हामीलाई पठाइनेछ”, उनले सरकारी सञ्चारमाध्यमलाई बताए ।
कतारी मध्यस्थकर्ताहरूले मङ्गलबारसम्म प्रक्रिया टुङ्गोमा पुग्ने अपेक्षा गरेको उनले बताए । अहिलेको मुख्य ध्यान हर्मुज जलघाँटीमा रहेको उल्लेख गर्दै उनले जलघाँटी पुनःखोल्न इरानले राखेका केही सर्त पूरा हुनुपर्ने बताए ।
हर्मुज जलघाँटी अमेरिका र इरानबीच जारी द्वन्द्वको केन्द्रमा रहेको छ । फेब्रुअरीको अन्त्यमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि द्वन्द्व सुरु भएको हो । युद्ध सुरु हुनुअघि विश्वको तेल र तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ भाग यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो ।
द्वन्द्व सुरु भएपछि इरानले हर्मुजमा नाकाबन्दी लगाएपछि अमेरिकाले पनि इरानी बन्दरगाहमा नाकाबन्दी लगाएर प्रतिक्रिया जनाएको छ । यही अवस्थाबीच गत साता न्युयोर्कमा अराघची र अमेरिकी दूत स्टिभ विटकफ तथा जारेड कुशनरबीच छलफल भएको थियो ।
इरानले अमेरिकी नाकाबन्दी अन्त्य गर्नुअघि लेबनानसहित मध्यपूर्वमा सात दिनको युद्धविराम हुनुपर्ने माग राखेको छ । लेबनानमा इरानको सहयोगी हिजबुल्लाह इजरायली सेनासँग लडिरहेको छ ।
इरानले विदेशमा रहेका आफ्ना रोक्का सम्पत्ति फुकुवा गर्न, तेल क्षेत्रमा लगाइएका प्रतिबन्ध हटाउन तथा अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्नुपर्ने मागसमेत राखेको छ ।

प्रतिक्रिया