बेलायती सैन्य हवाई अड्डानजिक आतंकवादको आशंकामा पक्राउ परेका पाँच जना रिहा


बीबीसी । बेलायतको आरएएफ फेयरफोर्ड सैन्य हवाई अड्डानजिकै आतंकवादसम्बन्धी कसुरको आशंकामा पक्राउ परेका पाँच जना धरौटीमा रिहा हुने भएका छन् । आतंकवादविरोधी प्रहरीले उनीहरूलाई कडा सर्तसहित रिहा गर्न लागिएको जनाएको छ।

ग्लुसेस्टरशायरस्थित उक्त हवाई अड्डानजिकै आइतबार बिहान तीनवटा ‘शंकास्पद सवारीसाधन’ देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। घटनापछि ठूलो सुरक्षा सतर्कता जारी गर्दै आसपासका दर्जनौँ घर खाली गराइएको थियो।

आतंकवादविरोधी प्रहरी (सीटीपी) का अनुसार घटनामा विदेशी राज्यको तर्फबाट काम गर्ने व्यक्ति वा समूहको संलग्नता रहे–नरहेको विषयमा पनि अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाका विभिन्न पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ परेका पाँचै जना बेलायती नागरिक हुन्। उनीहरू लन्डनका २० देखि २५ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई सुरुमा विस्फोटक पदार्थसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको थियो। पछि आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा थप पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार उनीहरू अनुसन्धानको दायरामै रहनेछन्। उनीहरूको आवागमन र अन्य व्यक्तिसँगको सम्पर्कमा कडा सर्त लागू गरिनेछ।

पक्राउ परेकामध्ये तीन जना वेस्टमिन्स्टर, एक जना क्याम्डेन र अर्का एक जना विल्स्डेनका बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनीहरूको उमेर २३ देखि २५ वर्षसम्म रहेको छ।

आतंकवादविरोधी प्रहरी प्रमुख सहायक आयुक्त लरेन्स टेलरले सोमबार दिउँसो तीनवटै शंकास्पद सवारीसाधनको विस्तृत परीक्षण गरिएको जानकारी दिए। त्यसका लागि सैन्य स्रोतसाधन र फरेन्सिक विज्ञको सहयोग लिइएको उनले बताए।

उनका अनुसार प्रहरीले घटनालाई सबै सम्भावित कोणबाट अनुसन्धान गरिरहेको छ। विदेशी राज्यको तर्फबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा काम गरिरहेका व्यक्ति वा समूहको संलग्नता हुन सक्ने सम्भावनालाई पनि अनुसन्धानमा समेटिएको छ।