धनुषा । धनुषाको विदेह नगरपालिका–१, ठाढीमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर, धनुषाद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ४४३ जना सीमावासी नागरिक लाभान्वित भएका छन्।
शिविरमा स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नुका साथै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो। सीमावर्ती क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले आयोजित शिविरलाई स्थानीयस्तरमा जनसेवा र सुरक्षा निकायबीचको सहकार्यको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ।
जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभियानले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुगेको आयोजकले जनाएको छ। शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका स्थानीयले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्शसमेत लिएका थिए।
शिविरको समन्वय, सहकार्य तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विदेह नगरपालिका, धनुषाका प्राविधिक ई. धर्मेन्द्र कुमार गोईतलाई सशस्त्र प्रहरी बल नेपालले प्रशंसा–पत्र प्रदान गरेको छ।

गोईतले प्राप्त प्रशंसा–पत्रलाई आफ्नो व्यक्तिगत सम्मानभन्दा पनि सम्पूर्ण विदेहवासीको सम्मानका रूपमा ग्रहण गरेको बताएका छन्। जनताको आवश्यकता र हितसँग जोडिएका सेवामूलक कार्यक्रममा समन्वय र सहकार्य गर्न आफू सधैं तयार रहेको उनको भनाइ छ।

प्रतिक्रिया