काठमाडौं । चालू आर्थिक वर्षदेखि सरकारले बिजुलीको महसुलमा लगाउन थालेको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने भएको छ । भ्याट कार्यान्वयनमा ल्याएको दुई महिनामै सरकारले खारेज गर्ने तयारी गरेको हो ।
आइतबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भएको छलफलमा विद्युतमा लगाइएको भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको हो ।
यसअघि घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लगाउने व्यवस्था बजेटमार्फत लागू गरिएको थियो । जस अनुसार घरायसी ग्राहकले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्दा ५ प्रतिशत र अन्य ग्राहकले १३ प्रतिशत भ्याट तिर्दै आएका थिए ।
भ्याट हटाउने प्रस्ताव अब बस्ने मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीले लैजाने ऊर्जा मन्त्रालयका एक अधिकारीले बताएका छन् । मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि विद्युत् महसुलमा लगाएको भ्याट हट्नेछ ।
मन्त्रालयका ती अधिकारीका अनुसार बिजुलीमा भ्याट लगाउने व्यवस्था हटाउन प्रधानमन्त्रीसमेत सकारात्मक देखिएपछि अर्थ र ऊर्जा मन्त्रालयबीच सहमति बनेको हो । भ्याट हटाउने निर्णय कार्यान्वयन भएपछि साउनदेखि विद्युत् महसुलमा उठाइएको भ्याटको हिसाबसमेत मिलाइनेछ । यसअघि उठाइएको रकम आगामी विद्युत् बिलमा समायोजन गर्ने तयारी छ ।

प्रतिक्रिया