नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी पहिरोमा बेपत्ताहरुको खोजी तथा उद्धारमा जुट्न चिनियाँ राष्ट्रपतिको निर्देशन


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी पहिरोका कारण बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् ।

बुधबार बिहान नेपालको सीमावर्ती क्षेत्रमा आएको पहिरोका कारण केरुङ बन्दरगाह क्षेत्रमा मानवीय क्षति भएको र केही व्यक्ति बेपत्ता भएका चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

पहिरोले सडक, सञ्चार तथा विद्युत् पूर्वाधारमा समेत क्षति पुर्याएको बताइएको छ।राष्ट्रपति सीले बेपत्ताको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै घाइतेको तत्काल उपचार, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण र थप मानवीय क्षति न्यूनीकरणका लागि आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका छन्।

साथै सम्भावित दोस्रो विपद् रोक्न जोखिमको निगरानी तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि उनले जोड दिएका छन् । चिनियाँ अधिकारीहरूले उद्धार तथा राहतका लागि जनशक्ति परिचालन गरेका छन्।