लकडाउन र जनजीवन
लघुकथा: लकडाउन र जनजीवन
प्रभादेवी पौडेल ।
केहि दिन यता एउटी सुन्दरी नदीको तिरमा नाचिरहेकी देखेर नदीबाट अर्की सुन्दरी बाहिर निस्किएर सोधिन्,-” तिमी को हौ र यति रमाइरहेकी छौं?” यो सुनेर उनले उत्तर दिईन्,-” म प्रकृती हुँ गंगा, तिमी पनि कम खुशी देखिन्नौ, आज भोली निक्कै सुकिली मुकिली देखिएकी छौ।” यो सुनेर गंगाले आफ्नो प्रतिबिम्ब पानीमा हेरिन् र निक्कै रमाईन्। उनोहरु संगै जन्मिएका हुर्किएका बाल सखाहरुको अबस्था बुझ्न गाउॅतिर लागे ।
बिच बाटोमा पर्बत राज भेट भए उनी आफ्नो जिउ भरि घाऊ लिएर झोक्राई रहेका थिए। उनका सन्तान पिपल,बर,चन्दन समी आदि संगै रोई रहेका थिए। यो देखेर प्रकृती र गंगाले सान्त्वना दिँदै भने -” नरोऊ तिमीहरु, तिमीहरुको जसले यो हालत बनाउॅदै छ ऊ आफै पछुताउॅदै छ, बरु सबै मिलेर पवनलाई भेट गर्न जाउँ ।” उनीहरु पवनकोमा पुग्दा ऊ कालो चस्मा लगाएर बाहिर निस्कियो। यो देखेर प्रकृतिले सोधिन् ,-“पवन जी आखाँ दुखेको छ की क्याहो ?” “पहिला त निक्कै पोलेको थियो चर्को घाममा नहिड्नु धुवा धुलोवाट बच्नु भनेर चस्मा दिए डाक्टरले, झन् यो वजनले त आँखा पोल्यो भनेर हेर्नै मान्दैन भन्या, पहिला दीसा पिसाब पनि अर्काले गराई दिनुपर्थ्यो अहिले अल्ली ठिक भएको छ भन्छ।”
सबैका कुरा सुनेपछि प्रकृतीले भनिन् , -“पुराना कुरा छाडिदिउँ, सबै साथी भेट भएको बेलामा जाॅऊ अलि फराकिलो ठाउॅमा गएर नाचगान गरौं,
आज हाँसो दिवस पनि हो ,बेस्सरी हासौं।” जव उनीहरु कोइली डाँफे र मुनालसँग नाच गान गर्दै बेस्सरी हाॅसेका थिए, यो आवाजले घर भित्र निदाई रहेका मनुष्य ब्युझीए र ब्युझीएकाहरु झ्यालबाट चियाएर हेरिरहेका थिए।