लघुकथा: संयोग
प्रभादेवी पौडेल ।
-“ए केटा हो अब बिहे पछि गलामा लगाम लागिहाल्छ, घुम्ने भनेको यही बेलामा त हो नी दूई चारदिन को टुर मा जाऊँ न है कतै, यतिका बर्ष संगै पढियो यसो सम्झना हुन्छ फोटो पनि खिचौ “रमेशले भन्यो । -“हुन्छ नी त जाउँ कुनै नयाँ ठाउँमा” केदारले सहमति जनायो।मदन अलि सिधा समान्य परिवारको थियो। उ धेरै सोचाईमा डुब्यो। बालाई फकाउनु पर्ला भनि उसले पनि सहमति जनायो।
उनीहरु तीनै जनाको सहमतिमा मुक्तिनाथ गए। भगवानको दर्शन गर्ने बेलामा केदारले भन्यो,-” हेरो केटा हो ,मुक्तिनाथ आए पछि एउटा न एउटा कुरा छाड्नू पर्छ रे मेरो हजुरबुवा ले भन्नु भएको, म त भन्टा छोड्छु, लौ भगवान आजको मिती देखि भन्टामा मन नजावोस् ।” त्यसको लगत्तै रमेशले भन्यो ,-“लौ भगवान म आज देखि घिरौला खान्न।” अब आयो पालो मदनको ।उ दोधारमा पर्यो आफ्नो भान्छामा त अनिबार्य पाक्ने भनेको भन्टा र घिरौला थियो, नपाक्ने भनेको खसीको मासु हो , बालाई खसीको मासु किन्न दाँतबाट पसीना आउॅछ ,यत्रो दशैं पनि कुखुराले टारे भन्ने सोचेर ,-“ल मैले पनि खसीको मासु छोडिदिए आजबाट” भन्दै बाचा गर्यो। घुमघाम सकिएपछि उनीहरु फर्किए ।
त्यसको केही दिन पछि एउटा साथीको बिहे पर्यो।मिलेसम्म सबै साथीहरु जम्मा भए। सबैले थालमा चुलिलाएर पुलाउ भन्दा ठुलो भाग खसीको मासु माछा रोस्ट छानि छानि राखे, तर मदनले भने काँडाको डरले माछा कहिल्यै खादैनथ्यो, कुखुराको मासुमा के मासु खाएको भनि जात फाल्ने भनेर पुलाउ तरकारी अचार लिएर साकाहारी भएतिर पल्लो छेउको टेबुलमा गएर बस्यो।सबै साकाहारी बुढापाकाहरुले उसको प्रशंशा गरे ,-“कति राम्रो बानी।” एउटा बृद्धाले उसको नजिकै आएर सबै नाम ठेगाना र पढाई सोधेर भने,-” हामी पनि घरका सबै परिवार साकाहारी हौं, मैले तिम्रो बुवालाई छिट्टै भेट्ने बिचार गर्याँ बाबु ।”