एनओसी प्रमाणीकरणपछि मात्र अन्तिम श्रम स्वीकृति
काठमाडौं । वैदेशिक रोजगार विभागले गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नेपाली दूतावासबाट प्रमाणित गरेर पेश गरेपछि मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति जारी गर्ने जनाएको छ । विभागले बुधबार सूचना जारी गर्दै गत फागुन २९ गते अघि मागपत्र प्रमाणित भइ पूर्वस्वीकृति लिएकाको हकमा अन्तिम श्रम स्वीकृति लिन दूतावासाबट प्रमाणित एनओसी पेश गर्नुपर्ने जनाएको छ ।
यस्तै पूर्वस्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । नयाँ व्यक्तिगत श्रम स्वीकृतिको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदता कम्पनीको आधिकारिक इमेलबाट हालै जारी एनओसी वैदेशिक रोजगार कार्यालय ताहाचलको आधारिक इमेलमा प्राप्त भएको हुनुपर्ने विभागले जनाएको छ ।
यही भदौ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा श्रमस्वीकृति खुला गर्ने निर्णय गरेको थियो । वैदेशिक रोजगार कार्यालय ताहाचलले काठमाडौँको निषेधाज्ञा खुलेपछि श्रम स्वीकृति प्रदान गर्ने तयारी गरेको छ । सरकारले यसअघि देखि नै बिदामा आएका नेपालीलाई काममा फर्कन पुनः श्रम स्वीकृति दिँदै आएको छ ।