काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशी हस्तक्षेप स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार ट्वीट गर्दै अध्यक्ष थापाले चिनियाँ राजदूत होउ यान्छीको दौडधुपलाई लक्षित गर्दै विदेशी हस्तक्षेप स्वीकार गर्न नकिने बताएका हुन् ।
उनले भनेका छन्, ‘दक्षिण,उत्तर र पश्चिम जहाँ कहाँबाट भएपनि आन्तरिक मामिलामा हस्तक्षेप स्विकार्य हुँदैन।’ अध्यक्ष थापाले लेखेका छन्, ‘१२ बुँदे र ६२,६३ को त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरुप नेपाल अन्तराष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतराबारे राप्रपाले १४ बर्षदेखि निरन्तर आवाज उठाउंदै आएको छ । दक्षिण,उत्तर र पश्चिम जहा कहाँबाट भएपनि आन्तरिक मामिलामा हस्तक्षेप स्विकार्य हुंँदैन।’
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद भइरहेका बेला चिनियाँ राजदूत यान्छीले राजनीतिक भेटघाटलाई तीब्र बनाएकी छिन् । उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी थिइन् । त्यस्तै बुधबार वरिष्ठ नेता नेपालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग घण्टौं भर्चुअल छलफल भएका समाचार सार्वजनिक भएका थिए । नेकपा भित्रको विवादमा चिनियाँ राजदूतको भेटलाई लिएर चिनियाँ चासो बढेको देखिएको छ ।


प्रतिक्रिया