सरकारले जिम्मेवारी र जवाफदेहिताको गति बढाउन नसके मुलुकको स्थिति भयावहः कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले सरकारले जिम्मेवारीपूर्ण काम नगरे मुलुकमा भयावह स्थिति उत्पन्न हुने चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार भिडियो सन्देश जारी गर्दै सरकारले कोरोना भाइरसले निम्त्याएको कठिन परिस्थितिमा जिम्मेवारी र जवाफदेहिताको गति बढाउन नसके मुलुकमा भयावह स्थिति उत्पन्न हुने चेतावनी दिएका हुन् ।
शर्माले कोरोना भाइरस संक्रमण थप फैलिन नदिन व्यापक परीक्षण गर्नुपर्ने र जनतालाई भोकमरीबाट जोगाउन पर्याप्त राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे । अहिले भावनामा बगेर बोल्ने समय नभए पनि कोठा भित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि नभएको उनले बताए । उनले अप्ठ्यारोमा रहेका नागरिकलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे ।