पार्टीको आन्तरिक विवाद मिलाउन कांग्रेसका शीर्ष नेताहरुबीच छलफल
काठमाडौं । पार्टीको आन्तरिक विवाद मिलाउन नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । बुधबार पार्टीसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत असन्तुष्ट पक्षका नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको हो ।
बूढानिलकण्ठस्थित सभापति देउवा निवासमा भएको छलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका गृहकार्यहरुको बारेमा छलफल भएको वरिष्ठ नेता पौडेलले जानकारी दिए ।
शुक्रबार बिहान पुनः बैठक बसेर विवाद टुंग्याउने प्रयास हुने उनले बताए । पौडेलसँगै पार्टीका महामन्त्री प्रकाशमान सिंह र नेता कृष्ण प्रसाद सिटौला छलफलका लागि बूढानिलकण्ठ पुगेका थिए । पौडेल पक्षले महाधिवेशन कार्र्यतालिका सच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भातृ संगठनहरुको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।