रोयटर्स । इरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबमाथि पुनः क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन् । लाल सागर किनारको यमनको पश्चिमी तटमा पनि हुथीले आफ्नो सैन्य उपस्थिति बलियो बनाइरहेको यमनी अधिकारीहरूले बताएका छन्।
हुथीहरूको पछिल्लो सैन्य विस्तारका विषयमा रियादमा आकस्मिक छलफल भइरहेका बेला खाडीका अरब राष्ट्रहरूले इरानसँग गर्ने तय भएको वार्ता स्थगित गरेका छन्। यससँगै मध्यपूर्वको द्वन्द्व थप फैलिन सक्ने र विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ।
हुथीहरूले सोमबार दक्षिणी साउदी अरबको खामिस मुशायतस्थित सैन्य हवाई अड्डामा दर्जनौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको दाबी गरेका छन्। विमान राख्ने ह्याङ्गर, राडार प्रणाली, धावनमार्ग र गोलाबारुद भण्डारलाई निशाना बनाइएको उनीहरूको भनाइ छ।
यमनमा साउदी नेतृत्वको गठबन्धनले हुथी आक्रमणमा १३ जना सर्वसाधारण घाइते भएको जनाएको छ। साउदी अधिकारीहरूले दक्षिणी क्षेत्रका चार सहरमा आपत्कालीन चेतावनीसमेत जारी गरेका छन्।
पछिल्ला दिनमा हुथीले लाल सागरको प्रवेशद्वारमा रहेको पेरिम द्वीप कब्जा गरेपछि साउदी अरबको तेल निर्यातमाथि थप दबाब परेको छ। यसअघि बिहीबार भएको हवाई आक्रमणबाट साउदीको पूर्व–पश्चिम तेल पाइपलाइनसमेत बन्द भएको थियो। रियादले उक्त आक्रमणमा इरानसमर्थित इराकी लडाकु समूह संलग्न रहेको आरोप लगाएको छ।
खाडीबाट लाल सागरसम्म साउदी भूभाग हुँदै जाने करिब १ हजार २०० किलोमिटर लामो उक्त पाइपलाइन सन् १९८० को दशकमा निर्माण गरिएको थियो। स्ट्रेट अफ होर्मुज जोखिममा पर्दा तेल निर्यातका लागि वैकल्पिक मार्गका रूपमा यसको प्रयोग हुँदै आएको छ।
व्यापारीहरूका अनुसार स्ट्रेट अफ होर्मुज लामो समय अवरुद्ध रहँदा र साउदी पाइपलाइन पनि बन्द भए विश्वव्यापी तेल आपूर्तिको करिब ४ प्रतिशतसम्म प्रभावित हुन सक्छ। पाइपलाइन कहिले पुनः सञ्चालनमा आउने हो भन्नेबारे साउदी सरकारले अहिलेसम्म स्पष्ट पारेको छैन।
हुथीको आक्रमणपछि साउदी र यमनी वायु सेनाले हुथीका विभिन्न ठेगानामा हवाई आक्रमण तीव्र बनाएका छन्। ऐतिहासिक लाल सागर बन्दरगाह मोखालगायत क्षेत्रमा समेत आक्रमण भएको यमनी अधिकारीहरूले बताएका छन्।
तर, लाल सागर किनारको यमनको पश्चिमी तटको अधिकांश क्षेत्रमा हुथीले अझै प्रभावकारी नियन्त्रण कायम राखेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारका अधिकारीहरूको दाबी छ।
यसैबीच, सोमबार कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको थियो। पछि मूल्य करिब १ प्रतिशतको वृद्धिमा स्थिर भएको थियो।

प्रतिक्रिया