भुटान । जलवायु परिवर्तनका कारण तीव्र गतिमा पग्लिरहेका हिमनदी र विस्तार भइरहेका हिमनदी तालबाट आउनसक्ने बाढीको जोखिम घटाउन भुटानले चौबीसै घण्टा निगरानी र पूर्वसूचना प्रणाली सञ्चालन गरिरहेको छ । राजधानी थिम्पूबाट केही घन्टाको दूरीमा रहेको कन्ट्रोल रुममा खटिएको टोलीले हिमनदी ताल तथा नदीको पानीको सतहमा हुने परिवर्तन निरन्तर निगरानी गर्छ ।
भुटानको उत्तरी हिमाली क्षेत्रमा ६०० भन्दा बढी हिमनदी छन् । हिमनदी पग्लिँदा कमजोर भग्नावशेष बाँधले थामेका ताल विस्तार हुने र बाँध भत्किए ठूलो बाढी आउनसक्ने जोखिम छ । सन् १९९४ मा यस्तै हिमनदी ताल विस्फोटजन्य बाढी (जीएलओएफ) मा पुनात्सङछु नदी किनारमा २१ जनाको मृत्यु भएको थियो ।
वाङ्गडु फोद्राङ क्षेत्रको जीएलओएफ आपत्कालीन चेतावनी केन्द्रकी कनिष्ठ इन्जिनियर डेचेन पेल्डनका अनुसार जलवायु परिवर्तनका कारण थोर्थोर्मी हिमनदी पूर्ण रूपमा हिमनदी तालमा परिणत भएको छ । “अब हामी अझ बढी सतर्क र बढी चिन्तित हुनुपर्छ”, उनले भने ।
सन् २०११ देखि सञ्चालनमा रहेको चेतावनी केन्द्रले सेन्सरमार्फत हिमनदी ताल र तल्लो क्षेत्रका नदीको पानीको सतह निगरानी गर्छ । असामान्य परिवर्तन देखिए साइरन स्वतः बज्ने र आवश्यक परे नियन्त्रण कक्षबाट तल्लो क्षेत्रका साइरनसमेत सञ्चालन गर्ने व्यवस्था छ ।
भुटानमा रहेका ६०० भन्दा बढी हिमनदी तालमध्ये १७ वटा सम्भावित खतरनाक मानिएका छन् । पुनात्सङछु नदीको मुहानतर्फ रहेका चारवटा तालमध्ये दुईवटा कमजोर भग्नावशेष बाँधले छुट्याएका छन् । ती बाँध भत्किए सबैभन्दा खराब अवस्थामा करिब पाँच करोड ३० लाख घनमिटर पानी तलतिर बग्नसक्ने अनुमान छ ।
जोखिम न्यूनीकरणका लागि भुटानले थोर्थोर्मी हिमनदी तालको पानीको सतह घटाउने काम पनि गर्दै आएको छ । सन् २००८ मा सुरु गरिएको परियोजनाले नहर निर्माण तथा विस्तार गरी तालको सतह करिब पाँच मिटर घटाएको थियो । तर हिमनदी निरन्तर पग्लिँदा ताल पुनः भरिएको छ र पानी बाहिर निकाल्ने प्रयास भइरहेको छ ।
भुटानका प्रमुख हिमनदीविद् कर्माका अनुसार देशका ठूला हिमनदी हरेक वर्ष ३० देखि ३५ मिटर र साना हिमनदी १२ देखि १६ मिटरसम्म पछाडि हटिरहेका छन् । उनले विगतमा हिमनदीमा सहजै चढ्न सकिने भए पनि अहिले अवस्था निकै बदलिएको बताए ।
भुटानले उत्सर्जन गर्नेभन्दा धेरै कार्बन अवशोषण गरे पनि जलवायु परिवर्तनको असर तीव्र रूपमा भोगिरहेको भन्दै कर्माले विश्व समुदायलाई जिम्मेवारी लिन आग्रह गरे । “भुटानका समुदायमा आइपरेको डर र जोखिम हाम्रो गल्ती होइन”, उनले भने ।

प्रतिक्रिया