जर्मनीको पूर्वी राज्यमा एएफडीको ठूलो सफलता, सरकार बनाउने दाबी


काठमाडौं । जर्मनीको पूर्वी राज्य स्याक्सोनी–आन्हाल्टमा अतिदक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले रेकर्ड जित हासिल गर्ने देखिएको छ।

अधिकांश प्रारम्भिक मतगणना सकिँदा एएफडीले ४४ प्रतिशत मत पाउने प्रक्षेपण गरिएको छ। दोस्रो स्थानमा रहेको कन्जरभेटिभ क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले भने करिब १७ प्रतिशत मत पाउने देखिएको छ।

एएफडी स्पष्ट बहुमतबाट भने केही टाढा रहने प्रक्षेपण गरिएको छ। तर राज्यका एएफडी नेता उलरिख सिग्मुन्डले परिणामले आफ्नो पार्टीलाई सरकार सञ्चालन गर्ने जनादेश दिएको दाबी गरेका छन्। उनले आफूहरू सकेसम्म चाँडो सरकार सञ्चालन गर्न चाहेको बताएका छन्।

दोस्रो विश्वयुद्धपछि जर्मनीको कुनै पनि राज्यमा अतिदक्षिणपन्थी पार्टीले सरकारको नेतृत्व गरेको छैन। राज्य सरकारको नेतृत्व पाए एएफडीले प्रहरी प्रशासन, स्थानीय शिक्षा र संस्कृतिसहित महत्वपूर्ण क्षेत्रमा अधिकार प्रयोग गर्न सक्नेछ।
करिब २१ लाख जनसंख्या रहेको स्याक्सोनी–आन्हाल्टमा एएफडीलाई घरेलु गुप्तचर निकायले ‘दक्षिणपन्थी अतिवादी’का रूपमा वर्गीकरण गरेको छ। पार्टी नेता सिग्मुन्डले भने उक्त वर्गीकरण अस्वीकार गरेका छन्।

सन् २०२१ को चुनावमा प्राप्त मतको तुलनामा यसपटक एएफडीको मत दोब्बरभन्दा बढी हुने देखिएको छ। परिणामलाई जर्मन राजनीतिमा महत्वपूर्ण मोडका रूपमा राजनीतिक विश्लेषक तथा विपक्षी दलहरूले व्याख्या गरेका छन्।

एएफडीको प्रदर्शनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मन टेलिभिजनको चुनावी प्रक्षेपण सामाजिक सञ्जालमा शेयर गरेका छन्। रुसी राष्ट्रपति कार्यालयका विशेष दूत किरिल दिमित्रिएभले पनि एएफडीको परिणामलाई ‘ऐतिहासिक जित’ भन्दै प्रशंसा गरेका छन्।

यता पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले एएफडीको सफलताप्रति आलोचनात्मक प्रतिक्रिया दिएका छन्। उनले पोल्यान्डमा एएफडीको विजयमा ‘मूर्ख र देशद्रोही’ मात्र खुसी हुन सक्ने टिप्पणी गरेका छन् ।