ब्युनस आयर्स । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमा आफ्नो देशको दाबीका पक्षमा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल बन्दै गएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फकल्यान्डसम्बन्धी अमेरिकी नीति पुनरवलोकन गर्ने सङ्केत दिएकाले आफूहरूको दाबी बलियो हुने उनले बताएका हुन् ।
माइलेले बिहीबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै फकल्यान्डनजिकै ब्रिटिस–इजरायली कम्पनीले अघि बढाएको तेल परियोजनाको विरोध गर्न अर्जेन्टिना ‘चुप लागेर नबस्ने’ बताए । उनले तेल उत्खननसँग सम्बन्धित कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गर्दै परियोजनाले फकल्यान्डमा एकपक्षीय गतिविधि नगर्न दुवै पक्षलाई आह्वान गर्ने संयुक्त राष्ट्रसङ्घीय प्रस्ताव उल्लङ्घन गरेको दाबी गरे ।
“विश्वमा परिवर्तनको हावा छ, जुन हाम्रो दाबीका लागि अनुकूल छ”, माइलेले भने । उनले फकल्यान्डसम्बन्धी अमेरिकी नीतिमा परिवर्तनको सम्भावना अर्जेन्टिना अमेरिकाको भरपर्दो साझेदार बनेको बुझाइसँग जोडेका छन् ।
ट्रम्पले सोमबार फकल्यान्डसम्बन्धी अमेरिकी धारणा समीक्षा भइरहेको बताएका थिए । बिहीबार बेलायती सञ्चारमाध्यम जीबी न्युजसँग कुरा गर्दै उनले इरानविरुद्धको युद्धमा बेलायतले पर्याप्त सैन्य सहयोग नगरेको भन्दै आलोचना गरेका थिए । अर्जेन्टिनासँग फकल्यान्डलाई लिएर विवाद भएमा बेलायतलाई समर्थन गर्ने विषयमा भने उनले स्पष्ट प्रतिबद्धता जनाएनन् ।
अर्जेन्टिनाको क्याथोलिक विश्वविद्यालयका अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका निर्देशक टोमस मुगिकाले फकल्यान्ड विवादलाई ट्रम्पले इरान युद्धमा बेलायतबाट थप सैन्य सहयोग र नेटोकोष जुटाउन दबाब दिने माध्यमका रूपमा प्रयोग गरेको हुन सक्ने बताए ।
बेलायत र अर्जेन्टिनाले सन् १९८२ मा फकल्यान्ड टापुलाई लिएर १० सातासम्म युद्ध लडेका थिए । युद्धमा ६४९ अर्जेन्टिनी, २५५ बेलायती र तीन जना टापुवासीको मृत्यु भएको थियो । अर्जेन्टिनाले टापुलाई ‘लास माल्भिनास’ भन्ने गरेको छ । सन् २०१३ को जनमतसङ्ग्रहमा भने फकल्यान्डका बासिन्दाले बेलायतसँगै रहने पक्षमा ठूलो बहुमत दिएका थिए ।
यसैबीच, अर्जेन्टिनी युद्धदिग्गज र वातावरणीय कानून व्यवसायीहरूले ब्रिटिस कम्पनी रकहपर तथा इजरायली कम्पनी नाभिटासले अघि बढाएको तेल परियोजना रोक्न अदालतमा मुद्दा दायर गरेका छन् । माइलेले परियोजनामा संलग्न कम्पनीलाई अर्जेन्टिनाको स्वीकृतिबिना दाबी गरिएको क्षेत्रमा सञ्चालन गर्न प्रतिबन्ध लगाइने बताएका छन् ।

प्रतिक्रिया