किभमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु


किभ । युक्रेनको राजधानी किभ नजिक  भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने झन्डै १०० जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किभको केन्द्रबाट करिब २०–३० किलोमिटर टाढा बुचा जिल्लास्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। घटनामा २७ वटा घर र ४४ वटा सवारीसाधनमा क्षति पुगेको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि आपत्कालीन टोली परिचालन गरिएको क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ।


आक्रमण अमेरिकी रक्षा कम्पनी रेथियनका प्रतिनिधिसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भेटवार्ता गरेको भोलिपल्ट भएको हो। भेटका क्रममा दुवै पक्षबीच ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक इन्टरसेप्टर क्षेप्यास्त्रको संयुक्त उत्पादनबारे छलफल भएको थियो। आक्रमणपछि जेलेन्स्कीले युक्रेनको हवाई सुरक्षा सुदृढ गर्न ‘प्याट्रियट’ प्रणालीको आपूर्ति बढाउनुपर्नेमा जोड दिएका छन्।

युक्रेनी रक्षा उद्योग परिषद्का अनुसार आक्रमण हुँदा कार्यक्रमस्थलमा रक्षा उद्योगसँग सम्बन्धित प्रतिनिधिहरू उपस्थित थिए। महान्यायाधिवक्ता रुस्लान क्राभचेन्कोले घटनाको युद्ध अपराधका रूपमा अनुसन्धान सुरु गरिएको र कार्यक्रमको सुरक्षा व्यवस्थाबारे पनि छुट्टै छानबिन भइरहेको जानकारी दिएका छन्।