बामाको । मालीको अदालतले शुक्रबार मालीको पूर्वगुप्तचर प्रमुखलाई ‘सरकारविरुद्ध षड्यन्त्र’ गरेको आरोपमा १५ वर्षको कैद सजाय सुनाएको छ । उनले १० दिनसम्म चलेको मुद्दाको सुनुवाइका क्रममा सत्तारूढ जुन्ता नेतृत्वमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाएका थिए ।
देशका पूर्व गुप्तचर प्रमुख कर्नेल कासुम गोइताविरुद्ध राज्यका सङ्घसंस्थाहरूलाई अस्थिर बनाउने र सत्तापलटको प्रयास गरेको आरोपमा मुद्दा चलाइएको थियो। उनलाई आपराधिक षड्यन्त्रका साथैसरकारविरुद्ध षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।
मुद्दाको सुनुवाईका क्रममा गोइताले आरोप अस्वीकार गर्दै सत्तारुढ अधिकारीहरूलाई राज्य कोषको दुरुपयोग गरेको र आफूलाई यातना दिएको खुला आरोप लगाएका थिए ।
गोइता सन् २०२० अगस्टमा निर्वाचित राष्ट्रपति इब्राहिम बुबकार केइतालाई सत्ताच्युत गर्ने सैनिक कूमा संलग्न सेना अधिकारीमध्ये एक हुन् । उक्त कूको नेतृत्व कर्नेल असिमी गोइताले गरेका थिए ।
दुवैको एउटै थर भए पनि उनीहरूबीच कुनै नाताको सम्बन्ध छैन। कूटनीतिक दबाबपछि सेनाले सत्तालाई नागरिक नेतृत्वको अन्तरिम सरकारलाई हस्तान्तरण गरेको थियो, जसको जिम्मेवारी मालीलाई फेरि नागरिक शासनतर्फ फर्काउने थियो।
कासुम गोइता उक्त अन्तरिम सरकारको पालामा देशको आन्तरिक गुप्तचर प्रमुख बनेका थिए । सन् २०२१ मा असिमी गोइताले दोस्रो पटक सत्तापलट गर्दै अन्तरिम सरकारका नेताहरूलाई हटाएर आफैं अन्तरिम राष्ट्रपति घोषित भएपछि कासुम गोइतालाई पदबाट हटाइएको थियो।
प्रहरी महान्यायाधिवक्ताले गोइता र अन्य पाँच प्रतिवादीका लागि २० वर्ष कैद माग गरेका थिए। मुद्दामा दोषी ठहर भएका सबै छ जनाले आरोप अस्वीकार गरेपनि उनीहरूलाई ७ देखि १५ वर्षसम्मको कैद सजाय सुनाइएको छ ।

प्रतिक्रिया