सियोल । दक्षिण कोरियाको उच्च अदालतले एसके समूहका अध्यक्ष तथा अर्बपति व्यवसायी चे ताए-विनलाई सम्बन्धविच्छेद मुद्दामा पूर्वपत्नी रोह सोह-योङलाई करिब ६४ करोड ४० लाख अमेरिकी डलर (९ खर्ब ४४ अर्ब वोन) भुक्तानी गर्न आदेश दिएको छ।
यद्यपि दुवै पक्षलाई सर्वोच्च अदालतमा पुनः अपिल गर्ने अधिकार रहेकाले यो फैसला अझै अन्तिम भएको छैन ।
६५ वर्षीय चे दक्षिण कोरियाको प्रमुख औद्योगिक समूह एसकेका अध्यक्ष हुन्। समूहअन्तर्गतको एसके हाइनिक्स विश्वकै अग्रणी मेमोरी चिप उत्पादकमध्ये एक हो। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारसँगै कम्पनीको बजार मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
यसअघि सन् २०२४ मा सोल उच्च अदालतले चेले पूर्वपत्नीलाई १३ खर्ब ८० अर्ब वोन (करिब ९४ करोड अमेरिकी डलर) तिर्नुपर्ने फैसला गरेको थियो। ठूलो रकमका कारण उक्त मुद्दालाई दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले ‘शताब्दीको सम्बन्धविच्छेद’ को संज्ञा दिएका थिए ।
पछि चेले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि सर्वोच्चले फैसला पुनरावलोकन गर्न निर्देशन दिएको थियो। त्यसपछि उच्च अदालतले क्षतिपूर्ति रकम घटाएर ९ खर्ब ४४ अर्ब वोन कायम गरेको हो ।
अदालतका अनुसार विवादको मुख्य विषय एसके समूहमा रहेको चेको सेयरसहित दम्पतीले वैवाहिक जीवनमा आर्जन गरेको सम्पत्तिको मूल्यांकन र बाँडफाँट थियो। पछिल्लो फैसलामा रोह वैवाहिक सम्पत्तिको करिब एकतिहाइ बराबर नगद पाउन योग्य रहेको उल्लेख गरिएको छ ।
अदालतले कम्पनीको विस्तारमा चेको नेतृत्वसँगै रोहले परिवारको जिम्मेवारी सम्हाल्नु, सन्तानको हेरचाह गर्नु तथा कम्पनीसँग सम्बन्धित सार्वजनिक गतिविधिमा दिएको योगदानलाई पनि सम्पत्ति बाँडफाँटको आधार मानेको छ ।
चे र रोहले सन् १९८८ मा विवाह गरेका थिए। उनीहरू लामो समयदेखि अलग बस्दै आएका छन्। चेले सन् २०१५ मा विवाहबाहिरको सम्बन्धबाट सन्तान जन्मिएको स्वीकार गरेपछि सन् २०१७ मा सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए। मध्यस्थता असफल भएपछि सन् २०२२ देखि मुद्दा अदालतमा विचाराधीन रहेको थियो ।
रोह दक्षिण कोरियाका पूर्वराष्ट्रपति रोह ताए-वूकी छोरी हुन्। उनी हाल डिजिटल कला सङ्ग्रहालय सञ्चालन गर्दै सांस्कृतिक क्षेत्रमा सक्रिय छिन्। दम्पतीका तीन सन्तान छन् ।
सार्वजनिक विवरणअनुसार एआई उद्योगको तीव्र विस्तारसँगै सन् २०१५ यता एसके समूहको सेयर मूल्य तीन गुणाभन्दा बढीले बढेको छ। एसके हाइनिक्सले एआई चिप निर्माणमा प्रयोग हुने मेमोरी चिप अमेरिकी कम्पनी एनभिडियालाई आपूर्ति गर्दै आएको छ। हाल चेको एसके समूहमा रहेको सेयरको मूल्य करिब ५ अर्ब ५० करोड अमेरिकी डलर बराबर रहेको बताइएको छ ।

प्रतिक्रिया