ब्रिसबेन । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन्।
चिकित्सकहरूका अनुसार यस्तो गर्भधारण करिब एक करोड ५० लाखमध्ये एकमा मात्र हुने सम्भावना रहने भएकाले यसलाई अत्यन्त असाधारण घटना मानिएको छ।
क्विन्सल्यान्डस्थित रोयल ब्रिस्बेन एन्ड वुमेन्स अस्पतालमा ३४ वर्षीया जेनिटर साउ नामोनाले गत १४ जुलाईमा सिजेरियन शल्यक्रियामार्फत चार छोरीलाई जन्म दिएकी हुन्।
यसअघि नै चार सन्तानकी आमा रहेकी नामोना र उनका पति जोर्थमले थप सन्तान जन्माउने योजना नबनाएका बेला चौगुना गर्भ रहेको जानकारी पाएपछि परिवार नै आश्चर्यमा परेको अस्पतालले जनाएको छ।
नामोनाको उपचारमा संलग्न मातृ–भ्रूण विशेषज्ञ डा. एलेक्सा बेन्डलका अनुसार चारै शिशु एउटै निषेचित अण्डाबाट विकसित भएका हुन्। गर्भाधानपछि अण्डा चार भागमा विभाजित हुँदा समान चम्ल्याहा शिशुको जन्म भएको उनले बताए।
उनका अनुसार यस्तो घटना विश्वमै अत्यन्त दुर्लभ मानिन्छ र अस्ट्रेलियामा यसअघि यस्तै प्रकृतिको जन्म भएको जानकारी उनीहरूसँग छैन।
चिकित्सकीय तथ्याङ्कअनुसार प्राकृतिक रूपमा चम्ल्याहा गर्भधारण हुने सम्भावना करिब सात लाखमध्ये एक मात्र हुन्छ। तर एउटै निषेचित अण्डाबाट समान चम्ल्याहा (चार) शिशु जन्मिने सम्भावना अझ निकै कम रहने भएकाले यस घटनाले चिकित्सकहरूको समेत ध्यान आकर्षित गरेको छ।
अधिकांश चम्ल्याहा गर्भधारण भने सहायक प्रजनन प्रविधिको प्रयोगपछि हुने गरेका छन्।
चारै भ्रूणले एउटै प्लेसेन्टा साझा गरेका कारण नामोनाको गर्भावस्था उच्च जोखिमयुक्त थियो। यस्ता अवस्थामा समयपूर्व प्रसूति, गर्भपतन, जन्मजात समस्या तथा अन्य जटिलता देखिने जोखिम उच्च हुने भएकाले गर्भावस्थाको १०औँ सातादेखि नै विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको नियमित निगरानी गरेको थियो। २५औँ सातामा उनलाई अस्पतालमै भर्ना गरी निरन्तर उपचार तथा निगरानी गरिएको थियो।
डा. बेन्डलले २८ हप्ता चार दिनको गर्भावस्थामै चार स्वस्थ शिशुको जन्म हुनु निकै उत्साहजनक उपलब्धि भएको बताए। शल्यक्रियाका क्रममा आमामा सामान्य रक्तस्राव भए पनि अवस्था नियन्त्रणमै रहेको र अहिले उनको स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिए।
हाल चारै नवजात शिशुको सघन उपचार कक्ष (एनआइसीयू) मा उपचार भइरहेको छ। उनीहरूको नाम एमिली, ह्यारिएट, क्याथरिन र एलेक्सा राखिएको छ। तीमध्ये एक शिशुको नाम आफ्नो सम्मानमा राखिएको जानकारी दिँदै डा. बेन्डलले यसलाई सुन्दर सम्मानका रूपमा लिएका छन्।
उनले चिकित्सकीय रूपमा यो घटना अत्यन्त अध्ययनयोग्य भए पनि आफूका लागि सबैभन्दा ठूलो खुसी स्वस्थ आमासहित चार स्वस्थ शिशुलाई सुरक्षित रूपमा संसारमा ल्याउन सफल रहेका उल्लेख गरे।

प्रतिक्रिया