बीबीसी । रुसले युक्रेनको राजधानी कीभमा आइतबार राति व्यापक ब्यालिस्टिक मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई सन् २०२२ मा रुसले पूर्णस्तरीय युद्ध सुरु गरेयताकै कीभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक भएको बताएका छन्।
युक्रेनी सेनाका अनुसार रुसले ४१ वटा मिसाइल प्रहार गरेकोमा १८ वटा हवाई प्रतिरक्षा प्रणालीले खसालेको थियो। साथै १०८ वटा ड्रोन पनि अवरोध गरिएको सेनाले जनाएको छ।
युक्रेनी वायुसेनाका अनुसार आक्रमणमा इस्कान्डर र हाइपरसोनिक जिर्कोन मिसाइलसहित १२५ वटा ड्रोन प्रयोग गरिएको थियो। कीभका विभिन्न आवासीय तथा व्यावसायिक भवन, एउटा सुपरमार्केट र छात्रावासमा क्षति पुगेको छ भने दुईवटा गोदाममा लागेको आगो नियन्त्रणमा लिन दमकलकर्मीहरू खटिएका छन्।
यसैबीच, युक्रेनले पनि रुसमाथिको प्रतिआक्रमणलाई तीव्र बनाएको छ। युक्रेनी सेनाका अनुसार कालो सागरमा रहेका रुसका दुई तेल ट्यांकर तथा काजाकिस्तानको तेल ढुवानी गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमको नोभोरोसिस्क टर्मिनलमा ड्रोन आक्रमण गरिएको छ। यद्यपि, त्यहाँ कुनै मानवीय क्षति वा तेल चुहावट नभएको जनाइएको छ।
रुसको दक्षिणपश्चिमी स्ताभ्रोपोल क्षेत्रमा पनि ड्रोन आक्रमणपछि एउटा औद्योगिक पार्कमा आगलागी भएको स्थानीय गभर्नरले बताएका छन्।
रातिको आक्रमणअघि युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका दुई गोदाममा ड्रोन आक्रमण गरेको थियो। उक्त घटनामा आठ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ।
राष्ट्रपति जेलेन्स्कीले पछिल्लो एक सातामा मात्रै रुसले युक्रेनविरुद्ध करिब १,४५० ड्रोन, १,६४० भन्दा बढी निर्देशित बम र ९९ वटा विभिन्न प्रकारका मिसाइल प्रहार गरेको दाबी गरेका छन्।
हालका साताहरूमा युक्रेनले रुसको ऊर्जा पूर्वाधारमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ। युक्रेनले रुसको करिब ४३ प्रतिशत तेल प्रशोधन क्षमता निष्क्रिय पारिएको दाबी गरेको भएपनि पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया