बीबीसी । क्यानडाको टोरन्टोमा आयोजित ’साल्सा अन सेन्ट क्लेयर’ सडक महोत्सवमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार शनिबार राति करिब ८ः१२ बजे सेन्ट क्लेयर एभिन्यूमा भइरहेको महोत्सवमा गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले गोली लागेका ६ जनालाई उद्धार गरेको र दुई जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ ।
टोरन्टो प्रहरीले पत्रकार सम्मेलनमार्फत महोत्सवमा दुई व्यक्तिबीच गोली हानाहान भएको र घटनास्थलबाट दुई वटा बन्दुक बरामद गरिएको जनाएको छ। घटनामा संलग्न कसैलाई पनि हालसम्म पक्राउ गरिएको छैन भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
टोरन्टो प्रहरीका डेपुटी प्रमुख फ्रान्सिस्को बार्रेडोका अनुसार गोली चल्दा महोत्सवमा करिब १३ हजार मानिस उपस्थित थिए। उनले घटनास्थल अत्यन्त अव्यवस्थित बनेको र प्रहरीले घटनासँग सम्बन्धित तीनवटा छुट्टाछुट्टै अपराधस्थलमा अनुसन्धान गरिरहेको बताए।
प्रहरीले सर्वसाधारणलाई घटनास्थल आसपासको क्षेत्रमा नजान आग्रह गर्दै प्रत्यक्षदर्शी वा घटनाबारे जानकारी भएकालाई प्रहरीसँग सम्पर्क गर्न अनुरोध गरेको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार, गम्भीर घाइते तथा प्रभावित सबैप्रति समवेदना प्रकट गरेका छन्। ओन्टारियो प्रान्तका प्रिमियर डग फोर्डले घटनालाई ‘अर्थहीन हिंसा’ को संज्ञा दिँदै दोषीलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्।
मध्य टोरन्टोस्थित सेन्ट क्लेयर एभिन्यूमा हरेक वर्ष आयोजना हुने ’साल्सा अन सेन्ट क्लेयर’ ल्याटिन महोत्सवमा प्रत्यक्ष सांगीतिक तथा नृत्य प्रस्तुति हुने गर्छ। यस वर्ष महोत्सवको २२औँ संस्करण आयोजना गरिएको थियो ।

प्रतिक्रिया