मस्को । युक्रेनले एक सातामा दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ भने आक्रमणका लागि पठाइएका युक्रेनका ५५५ ड्रोन खसालेको रुसले दाबी गरेको छ । आक्रमणका कारण मस्कोस्थित एयरपोर्टहरूमा व्यावसायिक उडानहरूमा अवरोध आएको थियो ।
चार वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेयता भएको यो सबैभन्दा ठुलो ड्रोन आक्रमण भएको एक रुसी अधिकारीले जानकारी दिएका छन् ।
रुसी रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षाले रातभर विभिन्न क्षेत्रमा रहेका ५५५ युक्रेनी ड्रोनलाई खसालेको दावी गरेको छ । मस्कोका मेयर सेर्गेइ सोब्यानिनले केही ड्रोन आक्रमणले राजधानी मस्कोको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएका छन् । रुसी यातायात मन्त्रालयले मस्कोका चार विमानस्थलबाट हुने उडानहरु स्थगित गरिएको जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसँग महत्वपूर्ण समन्वय बैठक गरेको र त्यसले महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने बताएको केही घण्टापछि यो आक्रमण भएको हो ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक्समा लेखेका छन्, “हिजो राति हाम्रो लामो दूरीको आक्रमणले फेरि एक पटक मस्को क्षेत्रलाई लक्षित गरी निशाना बनाएको छ । मस्कोको तेल प्रशोधन केन्द्रमा यो साता भएको यो दोस्रो पटक हो । रोस्तोभ क्षेत्र र युक्रेनको कब्जामा अस्थायीरूपमा रहेको क्षेत्रमा पनि निशानाहरू लक्षित गरिएको थियो।”
उनले भने , “यो हाम्रा शहर र समुदायहरूमा रूसको आक्रमणको पूर्ण रूपमा उचित प्रतिक्रिया हो। रूसको युद्ध मेसिनलाई चलाउने आधार क्षेत्रविरुद्ध हाम्रो सेनाको कारबाहीको अर्को महत्त्वपूर्ण परिणाम हो।”
“म युक्रेनको रक्षा र सुरक्षा बल, युक्रेनको सुरक्षा सेवा, मानव रहित प्रणाली बल, विशेष अपरेसन फोर्स, रक्षा खुफिया र हाम्रो मिसाइल ब्रिगेडलाई उनीहरूको सटीक आक्रमण र समन्वित प्रयासहरूको लागि धन्यवाद दिन्छु,” उनले भने ।
नेता जेलेन्स्कीले भने , “हालैका दिनहरूमा, हाम्रा सबै सहयोगीहरूले हाम्रो मध्यम दूरीको आक्रमण र लामो दूरीको आक्रमणको सटीकता र प्रभावकारिताको प्रशंसा गरेका छन्। अब युद्ध अन्त्य गर्ने बेला आएको छ । रुसले कूटनीतिको माध्यमबाट आवश्यक कदम चाल्नुपर्छ ।”

प्रतिक्रिया