स्पेसएक्सको आईपीओले बनायो इतिहास


रोयटर्स । अमेरिकी अर्बपति इलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक आईपीओ निस्कासन गरेको छ । कम्पनीले प्रतिशेयर १३५ डलरका दरले ५५ करोड ५५ लाख ६० हजार शेयर बिक्री गर्दै ७५ अर्ब डलर संकलन गरेको हो । यससँगै स्पेसएक्सको कुल बजार मूल्य १.७७ ट्रिलियन डलर पुगेको छ, जुन आईपीओमार्फत प्राप्त अहिलेसम्मकै उच्च मूल्यांकन हो।

स्पेसएक्सका शेयर शुक्रबारदेखि नास्डाकमा कारोबार हुनेछन्। उक्त मूल्यांकनका आधारमा कम्पनी अमेरिकी सेयर बजारमा सूचीकृत सातौं ठूलो कम्पनी बन्नेछ । स्पेसएक्सको मूल्यांकन जेपीमोर्गन चेस, बर्कशायर ह्याथवे, एली लिली, मेटा प्लाटफम्र्स तथा इलन मस्ककै टेस्लाभन्दा पनि बढी पुगेको छ ।

कम्पनीको उच्च मूल्यांकनलाई लिएर केही विश्लेषकहरूले प्रश्न उठाए पनि अन्तरिक्ष प्रविधि, स्याटेलाइट सेवा र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा रहेको सम्भावनाका कारण लगानीकर्ताको आकर्षण बढेको बताइएको छ।

न्युयोर्कस्थित ५० पार्क इन्भेस्टमेन्ट्सका प्रमुख कार्यकारी एडम सार्हानले आईपीओको मूल्य निर्धारण सन्तुलित रहेको भन्दै यसको वास्तविक परीक्षा आगामी केही सातामा बजारले कसरी प्रतिक्रिया दिन्छ भन्नेमा निर्भर रहने बताए।

स्पेसएक्सको आईपीओले सन् २०१९ मा साउदी अराम्कोले २५.६ अर्ब डलर उठाउँदै बनाएको विश्व कीर्तिमान पनि तोडेको छ। त्यतिबेला अराम्कोको मूल्यांकन १.७१ ट्रिलियन डलर रहेको थियो।

स्पेसएक्सको हालको १.७७ ट्रिलियन डलर मूल्यांकन १३.०८ अर्ब प्रचलित शेयरका आधारमा गरिएको हो। यदि अन्डरराइटरहरूले थप शेयर बिक्री गर्ने अधिकार प्रयोग गरेमा कम्पनीको मूल्यांकन अझ बढ्न सक्ने जनाइएको छ।