इरानमाथि आक्रमण गर्ने अमेरिकी योजना रद्द, सम्झौता नजिक पुगेको ट्रम्पको दाबी


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने उद्देश्यका साथ प्रारम्भिक सम्झौता नजिक पुगेको दाबी गरेका छन् । इरानमाथि आक्रमण गर्ने योजना रद्द गरेको घोषणा गरेलगत्तै उनले यस्तो बताएका हुन् ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि महत्वपूर्ण समझदारी भएको दाबी गरे। उनले इरानले कहिल्यै आणविक हतियार नबनाउने सहमति भएको उल्लेख गर्दै त्यसलाई सम्पूर्ण प्रयासको मुख्य उपलब्धि बताएका छन्।

ट्रम्पका अनुसार आवश्यक कागजातहरू अन्तिम चरणमा पुगेका छन् र छिट्टै युरोपमा सम्झौतामा हस्ताक्षर हुन सक्नेछ । उनले सम्झौतापछि होर्मुज जलडमरूमध्य पनि पुनः खुल्ने विश्वास व्यक्त गरे।

तर इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सम्झौतासम्बन्धी समाचारलाई अनुमानमा आधारित भन्दै कुनै पनि विषय अन्तिम रूप नपुगेको स्पष्ट पारेका छन् । उनले समझदारीपत्रको अधिकांश मस्यौदा तयार भएपनि अमेरिकाले थप मागहरू अघि सारेको आरोप लगाउँदै इरान आफ्ना मूल अडानबाट पछि नहट्ने बताएका छन् ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा इरानले इजरायल तथा अमेरिकाका खाडी क्षेत्रीय साझेदारहरूलाई निशाना बनाएको थियो। साथै विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पनि प्रभावकारी रूपमा बन्द भएको थियो।

अप्रिलमा युद्धविराममा सहमति भएपनि अमेरिका र इरानबीच छिटपुट आक्रमण तथा प्रत्याक्रमण जारी छ। यही साता दुवै पक्षबीच दुई चरणमा प्रतिशोधात्मक आक्रमण भएका थिए।

ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ४.४ प्रतिशतले घटेर प्रतिव्यारेल करिब ८९ डलरमा झरेको छ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले ट्रम्पसँग वार्ता भएको पुष्टि गर्दै इजरायल उक्त समझदारीको प्रत्यक्ष पक्ष नभएको जनाएको छ। इजरायलले अन्तिम सम्झौतामा युरेनियम संवद्र्धन सामग्री हटाउने, संवद्र्धन पूर्वाधार विघटन गर्ने, क्षेप्यास्त्र उत्पादनमा सीमा तोक्ने तथा क्षेत्रीय सशस्त्र समूहलाई इरानको समर्थन अन्त्य गर्ने विषय समावेश हुनुपर्ने धारणा राखेको छ।

ट्रम्पले यसअघि पनि पटक–पटक इरानसँग सम्झौता नजिक पुगेको दाबी गर्दै आएका छन्। यद्यपि हालसम्म कुनै औपचारिक सम्झौता सम्पन्न भएको छैन।