सान फ्रान्सिस्को । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीमध्ये एक ओपनएआईले सम्भावित सार्वजनिक सेयर निष्कासन (आईपीओ) तर्फ महत्वपूर्ण कदम चालेको छ । कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोगसमक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ । यद्यपि कम्पनीले हालसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको स्पष्ट पारेको छ । यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिट्टै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुला हुनेछ ।
ओपनएआईले जारी गरेको विज्ञप्तिमा उक्त घोषणा अमेरिकी धितोपत्र ऐनअन्तर्गतको सम्बन्धित व्यवस्थाअनुसार गरिएको र यसलाई शेयर बिक्रीको प्रस्ताव वा खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरेको छ । कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको शेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ र कानुनी प्रक्रिया पूरा गरिनेछ ।
कृत्रिम बुद्धिमत्ता क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र विशाल लगानी आवश्यकताबीच ओपनएआईको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रणाली विकास, उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार निर्माण, डाटा केन्द्र विस्तार तथा नयाँ उत्पादन विकासका लागि अरबौं डलर लगानी आवश्यक पर्ने भएकाले कम्पनीले दीर्घकालीन पूँजी व्यवस्थापनका विकल्पहरू खोजिरहेको विश्लेषकहरूको भनाइ छ ।
सार्वजनिक कम्पनी बनेमा ओपनएआईले विश्वभरका लगानीकर्ताबाट ठूलो मात्रामा पूँजी जुटाउन सक्नेछ, जसले कम्पनीलाई अनुसन्धान तथा विकास, पूर्वाधार विस्तार र नयाँ प्रविधि विकासमा थप लगानी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कृत्रिम बुद्धिमत्ता क्षेत्रको तीव्र विस्तारका बीच ओपनएआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारले चासोका साथ हेरिरहेका छन् ।

प्रतिक्रिया