नयाँदिल्ली । भारत र चीन प्रतिस्पर्धी नभएर सहयोगी साझेदार भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बताएका छन् । उनले छिमेकीबीचको सीमामा अवस्था सामान्य र स्थिर रहेको पनि बताए ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भारत–चीन सम्बन्धबारे प्रतिक्रिया दिँदै उक्त भनाइ राखेका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र चीनसँग रुसको निकट सम्बन्ध रहेको उल्लेख गरेपछि चीनको यो भनाइ आएको हो । नेता पुटिनले बिहीबार विश्वका प्रमुख समाचार एजेन्सीका प्रमुखहरुसँगको कुराकानीका क्रममा यस्तो बताएका थिए ।
प्रवक्ता लिनले भने, ‘अहिले चीन–भारत सीमाको अवस्था सामान्य अवस्थामा छ र स्थिर छ । दुई पक्षबीच सुमधुर सञ्चार रहेको छ । दुई देश सहयोगी साझेदार हुन् र दुई देश यस धारणामा अडिग रहनुपर्छ । उनीहरूबीच द्वन्द्व, विवाद र नकारात्मक प्रतिस्पर्धा होइन एक अर्काको विकासका लागि अवसरको रूपमा लिनुपर्छ ।’
पाकिस्तानसँग चीनको निकट सम्बन्धप्रति भारतको चासोबारे लिनले भने, ‘बेइजिङले भारत र पाकिस्तान दुवैलाई वार्ता र परामर्शको माध्यमबाट मतभेदहरू समाधान गर्न र यस क्षेत्रलाई शान्त र स्थिर राख्न समर्थन गर्दछ ।’ उनले भने, ‘यी तीन देश उदीयमान अर्थतन्त्र हुन् । राम्रो सम्बन्ध कायम गर्नु तीन देशको हितमा मात्र होइन । विश्व शान्ति, सुरक्षा र स्थायित्वका लागि पनि यो आवश्यक छ ।’

प्रतिक्रिया