इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते


कुवेत सिटी । इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। आक्रमणपछि विमानस्थल केही समयका लागि बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।

अप्रिल ८ मा लागू भएको युद्धविरामपछि खाडी क्षेत्रमा भएको यो पहिलो घातक आक्रमण हो। कुवेतका अनुसार आक्रमणबाट केही कूटनीतिक नियोगहरूमा समेत क्षति पुगेको छ । यस घटनाले हालसम्म छिटफुट आक्रमणका बाबजुद कायम रहेको युद्धविराममाथि थप दबाब सिर्जना गरेको छ ।

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको एक महिनाभन्दा लामो युद्धका क्रममा इरानले खाडी क्षेत्रका मुलुकहरूतर्फ हजारौं मिसाइल र ड्रोन प्रहार गरेको थियो। युद्धविरामपछि स्थिति केही शान्त बनेको भए पनि पछिल्लो घटनाले तनाव पुनः बढाएको छ ।

इरानले कुवेत र बहराइनले अमेरिकी सेनालाई आफ्नो भूमि प्रयोग गर्न दिएको आरोप लगाएको छ । तेहरानले बहराइनस्थित अमेरिकी नौसैनिक मुख्यालय र कुवेतको अली अल–सलेम हवाई अड्डालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। तर कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणबारे भने स्पष्ट उल्लेख गरेको छैन ।

कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अल–सनादका अनुसार घटनास्थलमा २५ वटा एम्बुलेन्स परिचालन गरिएको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए ।

घाइतेहरूमा टाउकोमा गम्भीर चोट, मस्तिष्कमा रक्तस्राव, अंग विच्छेदन तथा विस्फोटबाट भएका अन्य गम्भीर चोटपटक देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।