रुसद्वारा युक्रेनभर भीषण आक्रमण


किएभ । रुसले युक्रेनका विभिन्न सहरमा रातभरि व्यापक मिसाइल तथा ड्रोन आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार ड्निप्रोमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। राजधानी किएभमा मंगलबार बिहानै गरिएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन्। तीमध्ये ३५ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

किएभका मेयर भिताली क्लिच्कोका अनुसार सहरका दुई अग्ला आवासीय भवनमा क्षेप्यास्त्र प्रहार भएको छ। भग्नावशेषमुनि केही मानिस फसेको आशंका गरिएको उनले बताएका छन्।

रुसले गत साता लुहान्स्क क्षेत्रमा रहेको छात्रावासमा भएको ड्रोन आक्रमणको प्रतिशोधस्वरूप युक्रेनमाथि “व्यवस्थित आक्रमण” गर्ने चेतावनी दिएको थियो। उक्त घटनामा २१ जनाको मृत्यु भएको मस्कोले जनाएको थियो।

किएभ सिटी मिलिटरी प्रशासन प्रमुख तिमुर त्काचेन्कोले ‘शत्रुले ब्यालिस्टिक मिसाइलमार्फत आक्रमण गरिरहेको’ बताएका छन्। उनले नागरिकलाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेका छन्।

युक्रेनका अधिकांश क्षेत्रमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो। किएभको केन्द्रभागबाट बाक्लो धुवाँ उठिरहेको देखिएको छ। आक्रमणका कारण ग्यास स्टेशन, निर्माणाधीन स्थल, अपार्टमेन्ट भवन तथा घरहरूमा आगलागी भएको जनाइएको छ। सहरका केही क्षेत्रमा विद्युत् अवरोधसमेत भएको छ।

उता रुसको क्रास्नोडार क्राइ क्षेत्रमा रहेको इल्स्की तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि आगलागी भएको रुसी आपतकालीन सेवाले जनाएको छ। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । जापोरिज्झियास्थित एक औद्योगिक प्रतिष्ठानमाथि पनि आक्रमण भएको छ।

यसअघि सोमबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्भावित ठूलो रुसी आक्रमणबारे चेतावनी दिँदै नागरिकलाई हवाई आक्रमणसम्बन्धी सूचनामा सतर्क रहन आग्रह गरेका थिए।