जकार्ता । इन्डोनेसियाको पूर्वी पपुवा क्षेत्रमा रहेको एक माछा मार्ने गाउँमा आइतबार भएको शक्तिशाली विस्फोटबाट कम्तीमा पाँच जनाको ज्यान गएको छ भने करिब २० जना घाइते भएका छन् । प्रहरीले यो विस्फोट दोस्रो विश्वयुद्धकालीन बाँकी रहेको बम वा मोर्टारका कारण भएको हुनसक्ने आशङ्का गरेको छ ।
स्थानीय समयानुसार आइतबार दिउँसो भएको विस्फोटले गाउँभर ठूलो त्रास फैलाएको थियो । कोम्पास टिभीले प्रसारण गरेको दृश्यमा विस्फोटसँगै ठूलो गर्जन सुनिएको, आगोको ठूलो मुस्लो उठेको र त्यसपछि बाक्लो धुवाँको बादल आकाशतर्फ फैलिएको देखिएको छ । विस्फोट यति शक्तिशाली थियो कि घटनास्थल वरपरका नौवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
प्रहरीका अनुसार विस्फोट एउटा स्टिल्ट हाउस अर्थात् खम्बामाथि बनाइएको घरमुनि भएको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा यसको स्रोत दोस्रो विश्वयुद्धताका प्रयोग भएको बम वा मोर्टार हुन सक्ने अनुमान गरिएको छ ।
पपुवा प्रहरीका प्रवक्ता काह्यो सुकार्निटोले एएफपीसँग भने, ‘विस्फोटको स्रोत दोस्रो विश्वयुद्धबाट बाँकी रहेको बम वा मोर्टार हुनसक्ने आशङ्का गरिएको छ ।’
घटनापछि खोज तथा उद्धार कार्य जारी रहे पनि अवस्था अझै स्पष्ट भइसकेको छैन । तीन जना अझै बेपत्ता रहेको विवरण सार्वजनिक गरिएको छ । काह्योका अनुसार घटनास्थलबाट फेला परेका केही मानव अङ्गहरूको पहिचान प्रक्रिया पनि अझै पूरा हुन सकेको छैन ।
उनले कम्तीमा १९ जनालाई सामान्य चोटपटक लागेको र उनीहरूको उपचार भइरहेको जानकारी दिए । साथै, खोजी कार्य र अनुसन्धान सम्पन्न भएपछि थप विवरण सार्वजनिक गरिने पनि बताए ।
इन्डोनेसियामा विस्फोटसँग सम्बन्धित यस्ता घटनाहरू यसअघि पनि भएका छन् । गतवर्ष पश्चिम जाभा प्रान्तमा इन्डोनेसियाली सेनाले प्रयोगबाहिर रहेका हतियारहरू नष्ट गर्ने क्रममा खाडलभित्र विस्फोट गराउँदा १३ जनाको मृत्यु भएको थियो । मृतकमध्ये नौ जना सर्वसाधारण थिए ।
दोस्रो विश्वयुद्धका क्रममा इन्डोनेसिया एसियाको प्रमुख युद्धस्थलमध्ये एक बनेको थियो । त्यसबेला जापानी सेनाले डच इस्ट इन्डिजमाथि कब्जा गरेको थियो भने नियन्त्रण पुनः प्राप्त गर्न सहयोगी सेनाहरूले व्यापक सैन्य अभियान सञ्चालन गरेका थिए । त्यस समयका विस्फोटक सामग्री र सैन्य अवशेषका कारण दशकौँपछि पनि कतिपय क्षेत्रमा जोखिम कायम रहेको मानिन्छ ।

प्रतिक्रिया