अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच सुरक्षा विषयमा छलफल


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि बढाइरहेका बेला ल्याटिन अमेरिकी क्षेत्रका वरिष्ठ अमेरिकी सैन्य कमाण्डरले क्युबाली सैन्य अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

अमेरिकी दक्षिणी सैन्य कमाण्डका प्रमुख जनरल फ्रान्सिस डोनोभनले शुक्रबार ग्वान्तानामो खाडीस्थित अमेरिकी नौसैनिक अड्डानजिक क्युबाली सैन्य अधिकारीहरूसँग सुरक्षा सम्बन्धी विषयमा संक्षिप्त छलफल गरेका हुन् ।

क्युबाको क्रान्तिकारी सशस्त्र बलद्वारा जारी वक्तव्यअनुसार भेटवार्तामा सैन्य क्षेत्रको सीमावर्ती सुरक्षासम्बन्धी विषयमा विचारविमर्श गरिएको थियो ।

दुवै पक्षले छलफललाई सकारात्मक रूपमा लिँदै भविष्यमा पनि आपसी सम्पर्क कायम राख्ने सहमति जनाएका छन् । यस अवधिमा अमेरिकी प्रशासनले क्युबामाथि विभिन्न कूटनीतिक तथा आर्थिक कदमहरू अघि बढाएको छ । साथै, दुवै देशबीचका सम्बन्ध तथा क्षेत्रीय सुरक्षाका विषयहरूमा निरन्तर संवाद भइरहेको छ ।

भेटवार्ताका क्रममा जनरल डोनोभनले ग्वान्तानामोस्थित अमेरिकी नौसैनिक अड्डाको सुरक्षा अवस्था, त्यहाँ कार्यरत सैनिक तथा उनीहरूका परिवारको सुरक्षा र सैन्य तयारीसम्बन्धी विषयमा पनि जानकारी लिएको अमेरिकी दक्षिणी सैन्य कमाण्डले जनाएको छ ।