किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक आक्रमणका क्रममा शक्तिशाली हाइपरसोनिक ‘ओरेसनिक’ ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेका छन् । आणविक वा परम्परागत दुवै प्रकारका हतियार बोक्न सक्षम उक्त क्षेप्यास्त्र युक्रेनमा प्रयोग भएको यो तेस्रो पटक भएको बताइएको छ ।
राष्ट्रपति जेलेन्स्कीका अनुसार उक्त मिसाइलले किएभ क्षेत्रको बिला सेरक्वा सहरलाई निशाना बनाएको थियो, यद्यपि वास्तविक लक्ष्य तत्काल स्पष्ट हुन सकेको छैन । यसअघि रुसले पहिलो पटक नोभेम्बर २०२४ मा युक्रेनी सहर ड्निप्रोमा बहु–वारहेडयुक्त ओरेसनिक क्षेप्यास्त्र प्रयोग गरेको थियो भने दोस्रो पटक जनवरी महिनामा पश्चिमी लिभिभ क्षेत्रमा प्रयोग गरिएको बताइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार ‘ओरेसनिक’ नाम रूसी भाषामा हेजलनट रूखसँग सम्बन्धित छ । उनले उक्त क्षेप्यास्त्र ध्वनिको गतिभन्दा करिब १० गुणा अर्थात् म्याक १० गतिमा यात्रा गर्न सक्षम रहेको र यसले भूमिगत बङ्करहरू तीनदेखि चार तला वा अझ गहिराइसम्म ध्वस्त पार्न सक्ने दाबी गरेका छन् ।

प्रतिक्रिया