फिलिपिन्सको एन्जलस सहरमा नौ तले भवन ढल्दा….


मनिला । फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशङ्का गरिएको छ । दुर्घटनापछि उद्धार अभियान तीव्र पारिएको छ भने कम्तीमा २२ जना कामदार जीवितै बाहिर निस्कन सफल भएका छन् ।

प्रहरीका अनुसार पम्पङ्गा प्रान्तस्थित एन्जलस सहरमा आँधीबेहरीका बीच बिहान सबेरै निर्माणाधीन भवन एक्कासि ढलेको थियो । घटनापछि १०० भन्दा बढी प्रहरी, उद्धारकर्मी र सरकारी कर्मचारीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारमा खटिएका छन् ।

दुर्घटनास्थलमै रहेका प्रहरी ब्रिगेडियर जनरल जेस मेन्डेजले तत्काल मृत्युको पुष्टि नभएको जानकारी दिए । उनका अनुसार भवनबाट बाहिर निस्कन सफल भएका २२ जना कामदारमध्ये केही घाइते भएका छन् ।

मेन्डेजले भग्नावशेषभित्र कति जना अझै फसेका छन् भन्ने यकिन तथ्याङ्क तत्काल उपलब्ध नभएको बताए । तर एन्जलस सिटी सूचना कार्यालय प्रमुख जे पेलायोले एक निर्माण फोरम्यानलाई उदृत गर्दै कम्तीमा ३० जना कामदार अझै भग्नावशेषमुनि फसेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

उद्धार टोलीहरूले भारी उपकरणसहित भग्नावशेष हटाउने, सम्भावित जीवित व्यक्तिको खोजी गर्ने तथा जोखिमयुक्त संरचनाको मूल्याङ्कन गर्ने काम जारी राखेका छन् । अधिकारीहरूले भवन किन ढल्यो भन्ने विषयमा पनि प्रारम्भिक अनुसन्धान सुरु गरेका छन् ।

एन्जलस सहर फिलिपिन्सको प्रमुख आर्थिक र व्यावसायिक केन्द्रमध्ये एक मानिन्छ । यो क्षेत्र सन् १९९० को दशकको सुरुसम्म अमेरिकी मुख्य भूमिबाहिरका सबैभन्दा ठूला अमेरिकी वायुसेना अड्डामध्ये एकको केन्द्रका रूपमा परिचित थियो । अमेरिकी सैन्य अड्डा बन्द भएपछि एन्जलस र आसपासका क्षेत्रहरू क्रमशः व्यापार, सेवा र मनोरञ्जन केन्द्रका रूपमा विकसित भएका थिए ।

पुरानो अमेरिकी वायुसेना अड्डा अहिले ‘क्लार्क फ्रिपोर्ट जोन’का रूपमा सञ्चालनमा रहेको छ । उक्त क्षेत्र एन्जलस सहरमा, मेट्रो मनिलाबाट करिब ८० किलोमिटर उत्तरतर्फ अवस्थित छ ।