कङ्गोमा इबोला बढ्दो प्रकोप बारे डब्ल्यूएचओ चिन्तित


जेनेभा । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोप बारे चिन्ता व्यक्त गरेका छन् । उनले पछिल्लो समयमा युगान्डामासमेत फैलिरहेको इबोला प्रकोपका कारण १३१ जनाको मृत्यु भएको बताएका छन् ।

डब्ल्यूएचओका प्रमुख गेब्रेयससले यसअघि आइतबार इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपतकाल (पीएचईआईसी) घोषणा गरेका थिए ।

जेनेभामा विश्व स्वास्थ्य सभामा बोल्दै उनले इबोलाको महामारीको परिमाण र गतिको बारेमा चिन्तित रहेकाले आपतकाल घोषणा गरेको जनाएका छन् । उनले आवश्यक सल्लाहका लागि मङ्गलबारपछि एजेन्सीको आपतकालीन समिति बोलाउने बताएका छन् ।

कङ्गोका स्वास्थ्य मन्त्रीले गत हप्ताको अन्त्यमा घोषणा गरिएको इबोला प्रकोपबाट १३१ जनाको मृत्यु भएको उल्लेख गर्दै ५१३ जना सङ्क्रमित भएको बताएका छन् । कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तमा अहिलेसम्म ३० जना इबोला संक्रमित भएको पुष्टि भएको टेड्रोसले बताएका छन् ।

युगान्डाले पनि डब्लूएचओलाई राजधानी कम्पालामा दुई जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ, जसमध्ये एक जनाको मृत्यु भएको डब्लुएचओको वार्षिक बैठकमा बताइएको छ ।

उनले एक जना अमेरिकी नागरिकमा सङ्क्रमणको रिपोर्ट सकारात्मक पुष्टि भएपछि जर्मनीमा सारिएको अमेरिकाले रिपोर्ट गरेको बताएका छन् ।

सङ्क्रमणको पुष्टि भएका मामिलाहरूको सङ्ख्या र क्षेत्र बढ्दै जाँदा सङ्क्रमितको सङ्ख्या अझै बढ्ने बताउँदै टेड्रोसले सङ्क्रमण पत्ता लगाउने प्रयोगशाला र परीक्षणलाई सुदृढ पार्नु आवश्यक रहेको बताएका छन् ।

उनले कम्पाला लगायतका सहरी क्षेत्रहरूका साथै कङ्गोली सहर गोमामा सङ्क्रमणका घटनाहरू रिपोर्ट गरिएको बताउँदै यस क्षेत्रमा उल्लेखनीय जनसङ्ख्याको आवागमन भएको पनि औंल्याएका छन् ।

इटुरी प्रान्त अत्यधिक सङ्क्रमणबाट असुरक्षित रहेको बताउँदै उनले पछिल्लो समयमा बढ्दो द्वन्द्वले यस क्षेत्रमा एक लाखभन्दा बढी मानिसहरू नयाँ विस्थापित भएको बताएका छन् ।

उनले स्वास्थ्य कार्यकर्ताहरूको समेत इबोला सङ्क्रमणका कारण मृत्यु भएको रिपोर्ट गरिएको उल्लेख गरेका छन् । टेड्रोसले महामारी बुन्डिबुग्यो स्ट्रेन, “इबोला भाइरसको एक प्रजाति” भएको बताउँदै यसको लागि कुनै खोप वा उपचार नभएको कारण उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् ।