सियोल । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र जापानका प्रधानमन्त्री साने ताकाइचीबीच मङ्गलबार हुने शिखर वार्ताले पूर्वी एसियाली कूटनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ । भूराजनीतिक तनाव, विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता र अमेरिका–चीन प्रतिस्पर्धाबीच दुवै नेताले सहकार्यलाई अझ गहिरो बनाउने सङ्केत दिएका छन् । करिब छ महिनाको अवधिमा दुई नेताबीच हुन लागेको यो चौथो भेटलाई दक्षिण कोरिया–जापान सम्बन्धको नयाँ अध्यायका रूपमा हेरिएको छ ।
यसपटक राष्ट्रपति लीले आफ्नो गृहनगर अन्डोङमा जापानी प्रधानमन्त्री ताकाइचीको स्वागत गर्ने कार्यक्रम तय भएको छ । दक्षिणपूर्वी दक्षिण कोरियामा रहेको अन्डोङ शताब्दीयौँ पुरानो परम्परागत लोक गाउँका कारण परिचित छ, जसलाई युनेस्को विश्व सम्पदा सूचीमा पनि समावेश गरिएको छ । यसअघि गत जनवरीमा दुवै नेताले जापानको प्राचीन राजधानी नारा सहरमा भेटवार्ता गरेका थिए । नारा सहर ताकाइचीको गृहनगर हो ।
दुई देशका वर्तमान नेताले एकअर्काको गृहनगर भ्रमण गरेको यो पहिलो अवसर भएकाले पनि यो भेटलाई प्रतीकात्मक रूपमा महत्त्वपूर्ण मानिएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले शिखर सम्मेलनले दुई नेताबीचको व्यक्तिगत विश्वास र राजनीतिक समझदारीलाई थप मजबुत बनाउने अपेक्षा गरेको जनाएको छ ।
प्रधानमन्त्री ताकाइचीले मङ्गलबार बिहान पत्रकारहरूसँग कुरा गर्दै मध्यपूर्व र हिन्द–प्रशान्त क्षेत्रमा विकसित भइरहेका गम्भीर भूराजनीतिक अवस्थाबीच दक्षिण कोरिया र जापानबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने बताइन्। उनले ऊर्जा, अर्थतन्त्र, क्षेत्रीय सुरक्षा र आपूर्ति शृङ्खला जस्ता विषयमा दुवै देशको सहकार्य अत्यन्त आवश्यक रहेको धारणा राखिन् ।
शिखर सम्मेलनको औपचारिक एजेन्डामा आर्थिक तथा ऊर्जा सहकार्य, इरान युद्धको प्रभाव, आपूर्ति शृङ्खला सुरक्षा र द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासका विषय समेटिएका छन् । हाल दुवै देशबीच कुनै गम्भीर विवाद सतहमा नरहेको भन्दै विश्लेषकहरूले वार्ता सकारात्मक वातावरणमा अघि बढ्ने अनुमान गरेका छन् ।
सियोलस्थित आसन इन्स्टिच्युट फर पोलिसी स्टडीजकी जापान विशेषज्ञ चोई युनमीका अनुसार दक्षिण कोरिया र जापानले अहिले विवादभन्दा सहकार्यलाई प्राथमिकतामा राखेका छन् । उनले विगतजस्तै निरन्तर उतारचढावपूर्ण सम्बन्ध दुवै देशका लागि अब उपयोगी नहुने निष्कर्षमा नेतृत्व पुगेको बताइन् ।
दक्षिण कोरिया र जापान दुवै अमेरिकाका प्रमुख सहयोगी राष्ट्र हुन् । तर दोस्रो विश्वयुद्धअघि कोरियाली प्रायद्वीपमाथि जापानले गरेको ३५ वर्षे औपनिवेशिक शासनका कारण दुई देशबीच लामो समयसम्म अविश्वास र तनाव कायम रहँदै आएको थियो । विशेषगरी जबरजस्ती श्रम, यौन दासता र ऐतिहासिक स्मृतिसँग जोडिएका विषयले सम्बन्धलाई पटक–पटक असहज बनाएको थियो ।
सन् २०२३ पछि भने दुवै देशका तत्कालीन नेतृत्वले इतिहासजन्य विवादलाई पछाडि पार्दै सुरक्षा र आर्थिक सहकार्यलाई अगाडि बढाउने नीति अपनाएका थिए । अमेरिका–चीन रणनीतिक प्रतिस्पर्धा, उत्तर कोरियाको बढ्दो आणविक कार्यक्रम, विश्वव्यापी आपूर्ति शृङ्खला सङ्कट र आर्थिक अस्थिरतालाई साझा चुनौतीका रूपमा लिएपछि सियोल र टोकियोबीच सम्बन्ध सुधार हुन थालेको विश्लेषण गरिएको छ ।
गत वर्ष ली र ताकाइची नयाँ नेताका रूपमा उदाएपछि प्रारम्भमा केही चिन्ता देखिएको थियो । दक्षिणपन्थी सुरक्षा धारका नेताका रूपमा चिनिने ताकाइची र राजनीतिक रूपमा उदार मानिने लीबीच विदेश नीतिमा दूरी आउन सक्ने अनुमान गरिएको थियो । ली चीन र उत्तर कोरियातर्फ झुक्न सक्ने तथा जापान र अमेरिकासँग दूरी बढ्न सक्ने अड्कलबाजी पनि गरिएको थियो । तर व्यवहारमा भने दुवै नेताले सहकार्यलाई निरन्तरता दिएका छन् ।
गत अगस्टमा ताकाइची प्रधानमन्त्री बन्नुअघि नै राष्ट्रपति लीले जापानलाई आफ्नो पहिलो द्विपक्षीय भ्रमणको गन्तव्य बनाउँदै नयाँ सङ्केत दिएका थिए । जनवरीमा नारामा भएको भेटवार्तापछि दुवै नेताले साङ्गीतिक जाम सेसनमा सहभागी हुँदै के–पप समूह बीटीएसको चर्चित गीत ‘डायनामाइट’ मा ड्रमसमेत बजाएका थिए । कलेज जीवनमा ड्रमर रहेकी ताकाइची हेभी मेटल सङ्गीतको पारखी मानिन्छन् ।
राष्ट्रप्रमुखहरूले परम्परागत राजनीतिज्ञभन्दा फरक ढङ्गले व्यवहार गर्न सक्नुपर्छ भन्ने साझा सोच आफूहरूमा रहेको राष्ट्रपति लीले यसअघि बताएका थिए ।
विश्लेषकहरूका अनुसार अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिले पनि दक्षिण कोरिया र जापानलाई नजिक ल्याइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका–फर्स्ट’ नीतिले सुरक्षा र व्यापार क्षेत्रमा अनिश्चितता बढाएको छ भने इरान युद्धले विश्व अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ । यही कारण दुवै देशले अमेरिकामा सयौँ अर्ब डलर बराबरको लगानी प्रतिबद्धता जनाए पनि वासिङ्टनप्रतिको भरोसामा केही प्रश्न उठ्न थालेका छन् ।
यद्यपि सियोल–टोकियो सम्बन्ध अझै संवेदनशील नै रहेको विज्ञहरू बताउँछन् । जापानी औपनिवेशिक शासनकालमा कोरियालीहरूलाई जबरजस्ती श्रमिक र यौन दासका रूपमा प्रयोग गरिएको विषय पूर्ण रूपमा समाधान नभएकाले भविष्यमा फेरि तनाव उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ । अहिले दुवै सरकारले ती विवादास्पद विषयलाई सार्वजनिक बहसबाट टाढा राख्दै सम्बन्ध सुधारको वातावरण जोगाउने प्रयास गरिरहेका छन् ।
विशेषज्ञ चोई युनमीका अनुसार दुवै देशले विगतका विवाद फेरि दोहोरिन नदिन दीर्घकालीन समाधानबारे खुला छलफल भने अझै गरेका छैनन् । उनले ती विषय पुनः कहिले सतहमा आउँछन् भन्ने अनिश्चितता अझै कायम रहेको बताए ।

प्रतिक्रिया