गाजा पट्टीको ६० प्रतिशत भूभाग इजरायलको नियन्त्रणमा रहेको नेतन्याहुको दावी


जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सेनाले गाजा पट्टीको ६० प्रतिशत भूभाग नियन्त्रणमा लिएको बताएका छन् ।

कमजोर युद्धविरामलाई अगाडि बढाउने र युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने प्रयासहरू रोकिएको र गाजा दैनिक हिंसाको चपेटामा परेको समय उनको यस्तो टिप्पणी आएको हो ।

जेरुसेलम दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेतान्याहूले भने, “बितेका दुई वर्षमा हामीले हाम्रा जनतामा, हाम्रो राज्यमा, हाम्रो सेनामा र हाम्रो विरासतमा कति शक्तिशाली शक्तिहरू समाहित छन् भन्ने सम्पूर्ण विश्वलाई पुष्टि गरेर देखाएका छौँ ।’

“हामीले हाम्रा सबै बन्धकहरूलाई घर फिर्ता ल्यायौ,” उनले गाजामा युद्धको मुख्य घोषित उद्देश्यहरू मध्ये एकलाई सङ्केत गर्दै थपे ।

उनले भने, “हामीलाई गाजाबाट फर्किन दवाव दिने व्यक्तिहरू इजरायलमा नै थिए तर लहड र डरमा हामी फिर्ता भएनौँ । आज हामी गाजापट्टीको ६० प्रतिशत भूमिमा नियन्त्रण राख्न सफल बनेका छौँ । अब के गर्ने सोच्न सक्नेछौँ ।”

अक्टोबरदेखि लागू भएको इजरायल र हमासबीच अमेरिकी मध्यस्थतामा भएको युद्धविरामका सर्तअनुसार इजरायली सेना गाजामा तथाकथित ‘एलो लाइन’ मा फर्कनु पर्ने थियो, जसले इजरायलले प्यालेस्टाइन क्षेत्रको ५० प्रतिशतभन्दा बढी नियन्त्रण छोड्नु पथ्र्याे ।

नेतन्याहूको टिप्पणी हालैका हप्ताहरूमा इजरायली सेना नयाँ तथाकथित ‘ओरेन्ज लाइन’ मा जाँदैछ भन्ने मिडिया रिपोर्टपछि सेनाले आफ्नो पदचिह्न विस्तार गरिरहेको छ भन्ने पहिलो आधिकारिक सङ्केत हो ।

गाजामा युद्ध सुरु गर्न बाध्य पारेको सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि युद्धविरामको पहिलो चरणमा इजरायलले हिरासतमा लिएका प्यालेस्टिनीहरूको बदलामा हमासको नियन्त्रणमा रहेका सम्पूर्ण बन्धकहरूलाई फिर्ता गरिएको थियो ।

दोस्रो चरणमा हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेनाको क्रमिक फिर्तीको मुद्दाहरू समावेश छन् ।

“हमास र मध्यस्थकर्ताहरूबीच जारी वार्तामा ती लक्ष्यहरूतर्फ प्रगति रोकिएको छ,” इजरायली मिडियाले रिपोर्ट गरेको छ,“यदि हमासले निशस्त्रीकरण गर्न अस्वीकार गर्यो भने, सेनाले गाजामा लडाइँ पुनः सुरु गर्ने तयारी गरिरहेको छ।”

“यदि प्यालेस्टाइन इस्लामिक आन्दोलनले आफूलाई निशस्त्रीकरण गरेन भने इजरायलले आफ्नो काम अन्त्य गर्ने नेतान्याहूले धेरै अवसरहरूमा सङ्केत गरेका छन् ।

हमासको अधिकारअन्तर्गत काम गर्ने गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएदेखि ८५० भन्दा बढी प्यालेस्टिनीहरू मारिइसकेका छन्।  सोही अवधिमा इजरायली सेनाले आफ्नोतर्फ गाजामा पाँच सैनिकको मृत्यु भएको बताएको छ।