‘हामीले प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’


बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । बेइजिङको ’ग्रेट हल अफ द पिपल’मा बिहीबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो । यसअघि राष्ट्रपति ट्रम्पलाई बेइजिङमा रेडकार्पेट, तोपको सलामी र झण्डा हल्लाउँदै गरेका बालबालिकाहरूको समूहले भव्य स्वागत गरेका थिए ।

तियानमेन स्क्वायरमा गुन्जिएको तोपको आवाज र सैन्य ब्यान्डको धुनबीच दुवै नेताहरूले सैनिक टोलीको निरीक्षण गरे । बैठकको शुरूमा चिनियाँ राष्ट्रपति सीले विश्वव्यापी अनिश्चितता र ऐतिहासिक मोडको चर्चा गरे। उनले उदीयमान शक्तिले स्थापित शक्तिलाई चुनौती दिँदा हुने द्वन्द्वको जोखिमको सन्दर्भ निकाल्दै सहकार्यमा जोड दिए ।

उनले भने, ‘के चीन र अमेरिका ‘थुसिडाइड्स ट्रयाप’लाई पार गरेर प्रमुख राष्ट्रहरूबीचको सम्बन्धको नयाँ नमुना स्थापना गर्न सक्छन् ? के हामी विश्वव्यापी चुनौतीहरूको सामना गर्न र विश्वमा थप स्थिरता ल्याउन हात मिलाउन सक्छौं ? यी इतिहास र विश्वले सोधेका प्रश्नहरू हुन्, जसको जवाफ हामी दुई नेताले मिलेर लेख्नुपर्नेछ।’

उनले अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा बधाई दिए । उनले भने, ‘मैले सधैं विश्वास गरेको छु कि चीन र अमेरिबीचको साझा हित हाम्रा मतभेदहरूभन्दा ठूला छन्। हामीले प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ।’

राष्ट्रपति ट्रम्पले सी जिनपिङलाई महान् नेता’ भन्दै प्रशंसा गरे । उनले आफूसँगै विश्वका शीर्ष ३० व्यवसायीहरूलाई चीन ल्याएको जानकारी दिए।

ट्रम्पले भने, ‘तपाईं एक महान् नेता हुनुहुन्छ। कहिलेकाहीँ मानिसहरूले मैले यसो भनेको मन पराउँदैनन्, तर म तैपनि भन्छु किनभने यो सत्य हो।’ सीले सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धमा नयाँ अध्याय शुरु गर्ने एउटा ’ऐतिहासिक कोसेढुङ्गा’ बनाउने इच्छा व्यक्त गरेका छन् ।