बीबीसी । अमेरिकाले जर्मनीमा तैनाथ आफ्ना ५ हजार सैनिक फिर्ता लैजाने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच इरान युद्धसम्बन्धी मतभेद बढिरहेका बेला यस्तो निर्णय सार्वजनिक भएको हो ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का अनुसार यो कदम युरोपमा अमेरिकी सैन्य उपस्थिति पुनरावलोकनपछि चालिएको हो। पेन्टागनका प्रवक्ता सीन पार्नेलले रक्षा सचिवको निर्देशनमा उक्त निर्णय लिइएको जानकारी दिए ।
उनका अनुसार आगामी ६ देखि १२ महिनाभित्र सैनिक फिर्ता प्रक्रिया पूरा गरिनेछ । यसअघि जर्मन चान्सलर मेर्जले अमेरिकाको इरानप्रति कुनै स्पष्ट रणनीति नरहेको टिप्पणी गरेका थिए।
उनले इरानी वार्ताकारहरूसँग अमेरिकाको भूमिका ‘अपमानजनक’ भएको बताएका थिए । मेर्जको उक्त अभिव्यक्तिपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाउँदै मेर्ज ‘खराब काम गरिरहेका’ र विभिन्न नीतिगत क्षेत्रमा असफल रहेको आरोप लगाएका थिए।
ट्रम्पले इटाली र स्पेनबाट समेत अमेरिकी सैनिक फिर्ता गर्ने सम्भावनाबारे संकेत गरेका छन्। इरान युद्धको सन्दर्भमा सहयोग नगरेको भन्दै उनले ती देशहरूको आलोचना गरेका छन्।
हाल जर्मनीमा ३६ हजार भन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्, जुन युरोपमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य उपस्थिति हो। इटालीमा करिब १२,००० र बेलायतमा थप १०,००० अमेरिकी सैनिक रहेका छन्। यसअघि सन् २०२० मा जर्मनीबाट १२,००० सैनिक हटाउने प्रस्ताव आएको थियो तर त्यसलाई अमेरिकी कंग्रेसले रोकिदिएको थियो ।

प्रतिक्रिया