पुनः आक्रमण गरे अमेरिकी क्षेत्रीय अखडामाथि कडा आक्रमण गर्ने इरानको चेतावनी


रोयटर्स । इरानले अमेरिकाले पुनः आक्रमण गरेमा उसका क्षेत्रीय अखडामाथि पीडादायी प्रहार गर्ने कडा चेतावनी दिएको छ। साथै उसले होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण कायम रहने संकेत दिएको छ, जसले उक्त मार्ग खोल्ने अमेरिकी योजनालाई जटिल बनाएको छ।

अमेरिका–इजरायल र इरानबीचको युद्ध दुई महिना पुग्दा पनि विश्वको करिब २० प्रतिशत तेल–ग्यास आपूर्ति हुने महत्वपूर्ण जलमार्ग अझै अवरुद्ध छ। यसले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य तीव्र रूपमा बढाएको छ र विश्व अर्थतन्त्रमा मन्दीको जोखिम बढाएको छ।

अप्रिल ८ देखि युद्धविराम कायम रहे पनि अमेरिकाले इरानको तेल निर्यातमा नाकाबन्दी जारी राखेपछि इरानले जलमार्ग बन्द गर्दै आएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई वार्तामा ल्याउन नयाँ सैन्य विकल्पबारे जानकारी गराइने तयारी गरिएको एक अमेरिकी अधिकारीले बताएका छन्। उक्त समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक समय प्रति ब्यारेल १२६ डलरसम्म पुगेको थियो ।

इरानी विदेश मन्त्रालयले अमेरिका–इरान वार्ताबाट छिटो परिणाम आउने सम्भावना कम रहेको जनाएको छ । तेहरानमा बिहीबार राति हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको र साना ड्रोनहरूलाई निष्क्रिय पारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

क्षेत्रीय तनाव बढेसँगै संयुक्त अरब इमिरेट्सले आफ्ना नागरिकलाई इरान, लेबनान र इराक यात्रा नगर्न तथा त्यहाँ रहेका नागरिकलाई तत्काल फर्किन आग्रह गरेको छ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनेइले जलमार्गमा ‘विदेशी हस्तक्षेप अन्त्य गरिने’ संकेत दिएका छन्। यसबीच अमेरिका जलमार्ग पुनः सञ्चालनका लागि सैन्य विकल्प, नाकाबन्दी विस्तार वा अन्तर्राष्ट्रिय समुद्री गठबन्धन गठन गर्ने विषयमा छलफल गरिरहेको छ।