बेलायतका राजा चार्ल्स तृतीय र ट्रम्पबीच अमेरिका–बेलायत सम्बन्धमा जोड


वासिङ्टन । इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको भेटवार्ताले दुई देशबीचको पुरानो साझेदारीलाई पुनः केन्द्रमा ल्याएको छ । राज्यस्तरीय रात्रिभोजका क्रममा दुवै नेताले ‘विशेष सम्बन्ध’ को खुलेर प्रशंसा गरे । यद्यपि इरानको आणविक कार्यक्रमबारे ट्रम्पले सार्वजनिक रूपमा राखेको धारणा विवादको विषय बन्यो ।

भव्य स्वागत र औपचारिक कार्यक्रमबीच आयोजित रात्रिभोजमा ट्रम्पले इरानलाई सङ्केत गर्दै आफूहरूले ‘विशेष प्रतिद्वन्द्वीलाई सैन्य रूपमा पराजित गरेको’ दाबी गरे । उनले राजा चार्ल्स तृतीय पनि आफ्नो विचारसँग सहमत रहेको बताउँदै उक्त देशलाई कहिल्यै आणविक हतियार विकास गर्न नदिने अडान दोहोर्‍याए । तर यस विषयमा राजा चार्ल्स तृतीयले प्रत्यक्ष समर्थन जनाएको कुनै सङ्केत देखिएन ।

चार्ल्सले आफ्नो सम्बोधनमा इरान वा युद्ध तनावको सीधा उल्लेख गरेनन् । बरू, लन्डन र वासिङ्टनबीचको ऐतिहासिक सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता रहेको औँल्याए । उनले बदलिँदो विश्व परिवेशमा साझा चुनौतीहरू सामना गर्न मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

उनले अन्तर्राष्ट्रिय गठबन्धनहरूको महत्त्व, विशेषगरी नाटोजस्ता संरचनाहरूको भूमिका महत्वपूर्ण रहेको बताए । जबकी, ट्रम्पले नाटोको आलोचना गर्दै आएका छन् । त्यस्तै, युक्रेनमाथि रुसको आक्रमणविरुद्ध निरन्तर खडा हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा एप्पलका प्रमुख टिम कुक, अमेजनका जेफ बेजोस, एनभिडियाका जेन्सेन हुआङ तथा गल्फ खेलाडी रोरी म्याक्लरोयजस्ता प्रविधि र व्यवसाय क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति थियो ।

सम्बोधनका क्रममा दुवै नेताले हल्का मजाक पनि गरे । ट्रम्पले राजा चार्ल्स तृतीयको अमेरिकी कंग्रेसमा दिएको भाषणको प्रशंसा गर्दै डेमोक्रेट सांसदहरूलाई समेत उठ्न बाध्य बनाएको उल्लेख गरे । जवाफमा राजा चार्ल्स तृतीयले ऐतिहासिक सन्दर्भ जोड्दै बेलायत र फ्रान्सबीचको प्रतिस्पर्धाको प्रसङ्ग उठाएर रमाइलो टिप्पणी गरे ।

यसअघि कंग्रेसलाई सम्बोधन गर्दै राजा चार्ल्स तृतीयले लोकतान्त्रिक मूल्य, कानूनी शासन र शक्ति सन्तुलनको सिद्धान्तप्रति बेलायतको प्रतिबद्धता दोहोर्‍याएका थिए ।

उनले म्याग्ना कार्टाको सन्दर्भ उल्लेख गर्दै यसले अमेरिकी न्याय प्रणालीमा समेत प्रभाव पारेको बताए। उक्त अभिव्यक्तिले विशेषगरी विपक्षी डेमोक्रेट सांसदहरूबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।

राष्ट्रपति ट्रम्पले स्वागत समारोहमा बेलायतलाई अमेरिकाको सबैभन्दा नजिकको सहयोगीको रूपमा चित्रण गरे । उनले अमेरिकी स्वतन्त्रतापछि पनि दुई देशबीचको सम्बन्ध निरन्तर सुदृढ रहेको बताए ।

चार दिने भ्रमणअन्तर्गत शाही दम्पतीले बुधबार न्युयोर्कको भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बर्मुडातर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।