नयाँ दिल्ली। स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ। उक्त घटनामा कम्तिमा ६ जना यात्रु घाइते भएका छन् । यो घटना आइतबार बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो ।
दिल्लीबाट जुरिख जाँदै गरेको उडान बिहान करिब १:०८ बजे धावनमार्गमा थियो। विमानमा कुल २३२ जना (२२४ यात्रु र ४ शिशु सहित) सवार थिए। आगलागी भएपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो । घाइतेहरूलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ ।
विमानस्थल प्रशासनका अनुसार घटनापछि पूर्ण आपतकाल घोषणा गरिएको थियो । विमान सेवाका अनुसार चालकले उडान रोक्दै सावधानीका रूपमा यात्रुहरूलाई बाहिर निकाल्ने निर्णय गरेका थिए । सम्बन्धित विमान ठूलो आकारको यात्रुवाहक विमान रहेको बताइएको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया