इरान र पाकिस्तानका विदेशमन्त्रीबीच युद्धविराम र क्षेत्रीय स्थिरताबारे छलफल


इस्लामाबाद । अमेरिका र इरानबिच शान्तिका लागि पाकिस्तानी मध्यस्थतामा आयोजना गर्न लागिएको वार्ताका लागि सहभागी हुन पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले आफ्ना इरानी समकक्षी सैयद अब्बास अराघचीसँग टेलिफोन वार्ता गरी आग्रह गरेका छन् ।

विदेशमन्त्री दारले इरानी समकषी अराघचीसँग कुराकानी गरी युद्धविरामका प्रयास तथा क्षेत्रीय स्थायित्वबारे छलफल गरेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको हो ।

टेलिफोनमार्फत् भएको कुराकानीका क्रममा दारले कूटनीतिक च्यानलमार्फत थाँती रहेका मुद्दाहरू समाधान गर्न र यस क्षेत्रमा शान्ति प्रबद्र्धन गर्न निरन्तर वार्ता र शीघ्र संलग्नताको आवश्यकतामा जोड दिए ।

दुवै पक्ष निकट सम्पर्कमा रहन सहमत भएको पाकिस्तानी विदेश मन्त्रालयले मन्त्री दारलाई उदृत गरी जनाएको छ।

२४ घण्टाभन्दा कम समयमा दुई विदेशमन्त्रीहरूबीच भएको यो दोस्रो भेट हो । यो प्रयासले पाकिस्तानले क्षेत्रीय तनावको शान्तिपूर्ण समाधानलाई समर्थन जारी राख्दा तीव्र कूटनीतिक पहललाई प्रतिबिम्बित गर्दछ ।