बुडापेस्ट । हंगेरीका लामो समयदेखि सत्तामा रहेका राष्ट्रवादी नेता विक्टर ओर्बान १६ वर्षपछि आइतबार सम्पन्न राष्ट्रिय निर्वाचनमा केन्द्र–दक्षिणपन्थी टिस्जा पार्टीसँग पराजित भएका छन् । यो परिणामले युरोपेली राजनीति र उनका अन्तर्राष्ट्रिय सहयोगीहरूका लागि ठूलो झट्का मानिएको छ ।
६२ वर्षीय ओर्बानलाई युरोप र अमेरिकामा रूढीवादी नेताका रूपमा चिनिन्थ्यो। तर आर्थिक स्थिरता अभाव, अन्तर्राष्ट्रिय दबाब र धनी वर्गको प्रभाव बढेको भन्दै मतदाताहरूले असन्तुष्टि जनाएपछि उनी सत्ताबाट बाहिरिएका हुन्।
विजयी नेता मग्यारले ‘ओर्बानको प्रणाली अन्त्य गर्दै देशलाई मुक्त गरेको’ दाबी गरेका छन्। उनले चुनावलाई ‘पूर्व र पश्चिमबीचको रोजाइ’ का रूपमा प्रस्तुत गरेका थिए। ओर्बानले भने विपक्षीले देशलाई रूससँग अनावश्यक द्वन्द्वमा तान्ने आरोप लगाए पनि त्यो अस्वीकार गरिएको छ।
‘नतिजा हाम्रो लागि पीडादायी भए पनि स्पष्ट छ,’ ओर्बानले प्रतिक्रिया दिएका छन्। उनका समर्थकहरू परिणामपछि भावुक बनेका थिए।
ओर्बानको बहिर्गमनले हंगेरी मात्र होइन, युरोपेली संघ र युक्रेनमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ। विशेषगरी, हंगेरीले रोक्दै आएको युक्रेनका लागि ९० अर्ब युरोको सहायता अब अघि बढ्न सक्ने संकेत देखिएको छ।
विश्लेषकहरूका अनुसार नयाँ नेतृत्वले भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारमा ध्यान दिनेछ। साथै, हंगेरी पुनः युरोपेली मुख्यधारसँग नजिकिने सम्भावना पनि बढेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले नयाँ नेतृत्वलाई बधाई दिँदै युरोपको शान्ति र सुरक्षाका लागि सहकार्य गर्ने बताएका छन्।
यसैबीच, ओर्बानको पराजयले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन का लागि पनि कूटनीतिक क्षति हुन सक्ने बताइएको छ, किनकि ओर्बानलाई ईयूभित्र उनका प्रमुख सहयोगी मानिन्थ्यो।
राजनीतिक विश्लेषकहरूले यो परिणामलाई युरोपेली राजनीतिक दिशामा महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया