इस्लामाबाद । अमेरिका र इरानबीच ६ सातादेखिको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शनिबार तय गरिएको उच्चस्तरीय वार्ता अनिश्चित बनेको छ । इरानले लेबनान र आर्थिक प्रतिबन्धसम्बन्धी स्पष्ट प्रतिबद्धता बिना वार्ता सुरु नहुने अडान लिएको छ।
उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल इस्लामाबादतर्फ प्रस्थान गरेको छ। टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुश्नर पनि सहभागी छन्। इरानी पक्षबाट संसद्का सभामुख मोहम्मद बाकर कालीबाफ र विदेशमन्त्री अब्बास अराघची शुक्रबार नै पाकिस्तान पुगेका छन् ।
कालीबाफले अमेरिका पूर्व सहमतिअनुसार इरानी सम्पत्ति फुकुवा गर्ने र लेबनानमा युद्धविराम सुनिश्चित गर्ने प्रतिवद्धता कार्यान्वयन नगरेसम्म वार्ता सुरु नहुने स्पष्ट पारे। मार्चदेखि जारी द्वन्द्वमा इजरायली आक्रमणबाट इरानसमर्थित हेज्बोल्लाह लडाकुसहित करिब २ हजारको ज्यान गइसकेको छ । अमेरिका र इजरायलले भने लेबनानको सैन्य अभियानलाई इरान–अमेरिका युद्धविरामसँग असम्बन्धित बताएका छन्, जबकि तेहरानले त्यसलाई वार्ताकै अङ्ग मानेको छ ।
यसबीच राष्ट्रपति ट्रम्पले इरानमाथि कडा टिप्पणी गर्दै इरानसँग वार्ताबाहेक अन्य विकल्प नभएको बताएका छन् । भान्सले सकारात्मक नतिजाको अपेक्षा जनाए पनि “छल गर्ने प्रयास भए कडा प्रतिक्रिया दिने” चेतावनी दिएका छन् ।
वार्ताअघि इस्लामाबादमा अभूतपूर्व सुरक्षा सतर्कता अपनाइएको छ। प्रधानमन्त्री शहबाज शरीफले यसलाई ‘निर्णायक वार्ता’को संज्ञा दिएका छन्। मंगलबार घोषणा गरिएको दुई साताको युद्धविरामपछि हाल अमेरिका र इजरायलका हवाई आक्रमण रोकिएका छन्।

प्रतिक्रिया